काठमाडौं । सुदुरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी – ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
इटहरीमा आज भएको फाइनलमा प्रदेश १ लाई ६ विकेटले हराउँदै सुदुरपश्चिम च्याम्पियन बनेको हो । उपाधिसँगै सुदुरले ५ लाख र उपविजेता प्रदेश १ ले ३ लाख रूपैयाँ प्राप्त गरेका छन् । प्रदेश १ ले दिएको १ सय २ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदुरले १९ ओभर ५ बलमा १०२ रन जोड्दै लक्ष्य पूरा ग-यो ।
सुदुरको जितमा सम्झना खड्काले अविजित २७ रन जोड्नुभयो । कविता जोशी १९ रनमा अविजित रहनुभयो । डोली भट्टले २२ तथा कविता कुँवरले १२ रन बनाउनुभयो । प्रदेश १ का लागि सबनम राई, संगीता राई, रुबिना क्षेत्री र हिरान्मायी रोयले १ / १ विकेट लिए ।
जनता क्रिकेट पार्क क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको प्रदेश १ ले २० ओभरमा ५ विकेट गुमाएर १ सय १ रन बनाएको थियो । प्रदेश १ का लागि काजल श्रेष्ठले अविजित ४८ रन जोड्नुभयो ।
यस्तै अप्सरी बेगमले १५ रन जोड्दा कप्तान रुबिना क्षेत्रीले १४ रन बनाउनुभयो । सुदुरका मनिषा चौधरीले २ तथा ऋतु कोनुजियाले १ विकेट लिनुभयो । नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो ।