• DoIB Registration No. 2369/077-78
Friday, 24 Apr 2026

नेपाली क्रिकेट ‘फिक्सिङको फन्दा’मा परेपछि अपूरणीय क्षति पुग्ने अनुमान

  • OVN
  • January 26, 2023
नेपाली क्रिकेट ‘फिक्सिङको फन्दा’मा परेपछि अपूरणीय क्षति पुग्ने अनुमान

काठमाडौं । निलम्बनका बेला खेलाडीकै प्रदर्शनका कारण लय नगुमाएको नेपाली क्रिकेट ‘फिक्सिङको फन्दा’मा परेपछि चिन्ता बढेको छ । 

यसबारे अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रारम्भिक अनुसन्धानबाट मिलेमतो भएकै देखिएको र यसमा भारतीय कम्पनीका प्रतिनिधिसहित १० जना संलग्न रहेको दाबी गरेको छ । 

प्रतियोगितामा अन्तर्राष्ट्रिय रूपमै जुवा खेलाएको देखिएको ब्यूरोका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो । अहिलेसम्मको अनुसन्धानबाट केही खेलाडी र नेपाल क्रिकेट सङ्घ क्यानका केही पदाधिकारीको भूमिका समेत शङ्कास्पद रहेको पाइएको ब्यूरोको भनाइ छ ।

क्यानमा राजनीतिक हस्तक्षेप बढेको भन्दै अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले नेपाललाई सन् २०१६ देखि निलम्बन गरेको थियो । यो निलम्बन तीन वर्षपछि आंशिक रुपमा फुकुवा भए पनि पूर्णरुपमा भने गएको जेठबाट मात्र फुकुवा भएको थियो । खेलमा गम्भीर अपराध मानिने मिलेमतोले नेपाली क्रिकेटमाथि अपूरणीय क्षती पुग्ने क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डेले बताउनुभयो । 

प्रतियोगितामा खेल मिलेमतो भए नभएकोबारे तीनवटा निकायले छानबिन गरिरहेका छन् । छानबिनको निष्कर्ष आउन बाँकी नै रहे पनि यो विषयले, राम्रो फड्को मारिरहेको नेपाली क्रिकेटलाई नकरात्मक असर गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । 
 

Comments