• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

युरो २०२०: इंग्ल्यान्ड २५ वर्षपछि युरो कपको सेमिफाइनलमा प्रवेश

  • OVN
  • July 04, 2021

इंग्ल्यान्ड युरो २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार विहान सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा युक्रेनलाई ४-० गोलले पराजित गर्दै इंग्ल्यान्ड २५ वर्षपछि युरो कपको सेमिफाइनलमा प्रवेश गरेको हो। 

खेलको चौथो मिनेटमै इंग्ल्यान्डले अग्रता लिएको थियो। कप्तान ह्यारी केनले रहिम स्टर्लिङले उपलब्ध गराएको पासमा गोल गरे। 

पहिलो हाफमा १-० ले अघि रहेको इंग्ल्यान्डले दोस्रो हाफ सुरु भए लगत्तै अग्रता दोब्बर पार्‍यो। लुक शाको फ्रिकिङमा ह्यारी माग्युरले शक्तिशाली हेडमार्फत बललाई जाली चुमाए। 

पाँच मिनेटपछि इंग्ल्यान्डले तेस्रो गोल गर्‍यो। यसपटक पनि शाले नै गोलका लागि पास उपलब्ध गराए। उनले उत्कृष्ट क्रश गरेपछि ह्यारीले हेडमार्फत टिमका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गरे। 

इंग्ल्यान्डका लागि जोर्डन हेन्डर्सनले चौथो गोल गरे। उनले ६३ मिनेटमा मासन माउन्टले उपलब्ध गराएको पासमा गोल गरे। 

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका हेन्डर्सनले आफ्नो ६२ औं अन्तर्राष्ट्रिय खेलमा पहिलो अन्तर्राष्ट्रिय गोल गर्ने क्रममा माउन्टको कर्नर बलमा हेडमार्फत बललाई गोलपोस्टको दिशा दिए। 

इंग्ल्यान्डले जारी प्रतियोगितामा अहिलेसम्म गोल खाएको छैन।

लगातार पाँच खेलमा गोल नखाइ अन्तिम चारमा स्थान पक्का गरेको इंग्ल्यान्डले अब सेमिफाइनलमा आगामी बुधबार डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ। 

पहिलो सेमिफाइनलमा इटाली र स्पेनबीच मंगलबार प्रतिस्पर्धा हुनेछ।

Comments