काठमाडौं । विदेशबाट फर्किदा नेपालीहरूले ल्याउने अतिरिक्त एउटा नयाँ मोबाइल सेटमा भन्सार नलाग्ने भएको छ ।
अब विदेशबाट फर्किदा नेपालीहरूले आफ्नो साथमा दुईवटा मोबाइल सेट ल्याउन पाउनेछन् । जसमध्ये आफूले चलाइरहेको पुरानो सेट बिना भन्सार भित्र्याउन पाइन्थ्यो भने अर्को सेटको भन्सार तिर्नुपर्ने ब्यवस्था थियो ।
अब भने विदेशबाट फर्किदा कुनै पनि व्यक्तिले आफूले चलाइरहेको बाहेक अर्को नयाँ सेटको भन्सार तिर्न नपर्ने भएको छ । त्यस्तै विदेशबाट नेपालीहरुले निजी प्रयोजनलाई ल्याउने मोबाइल सेटहरूको आइएमइआई अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्थाबाट पनि सरकार पछि हटेको छ ।
यो प्रक्रिया निकै झन्झटिलो भएको भन्दै सरकारको चौतर्फी आलोचना हुँदै आएको थियो । विदेशबाट फर्किंदा नेपालीहरूले ल्याउने मोबाइल फोन विमानस्थलमै अनिवार्य भन्सारमा आइएमइआई दर्ता गर्नुपर्ने व्यवस्था तत्काललाई रोकिएको हो ।
नेपाल दूरसंचार प्राधिकरणले परीक्षण चरण भन्दै गत पुस ९ गते शनिबार सूचना जारी गर्दै आजबाट अनिवार्य आइएमइआई दर्ता गर्नुपर्ने व्यवस्था गरेको थियो ।