• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

उपत्यकामा निषेधाज्ञा खुकुलो : निजी सवारीमा जोरबिजोर

  • OVN
  • June 20, 2021

काठमाडौँ– काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा एकसाता थपिएको छ।

आइतबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको हो।

थपिएको निषेधाज्ञा अवधिमा निजी सवारी साधन जोर बिजोर प्रणालीमा चलाउन पाइनेछ भने बार अनुसार पसल सञ्चालन गर्न पाइनेछ।

थप गरिएको निषेधाज्ञा असार १४ गते मध्यरातसम्म लागू हुनेछ । थपिएको निषेधाज्ञामा थप केही क्षेत्र खुकुलो बनाइएको छ । जोर बिजोर प्रणाली अनुसार जोर गतेका दिन जोर नम्बर र बिजोर गतेका दिन बिजोर नम्बर भएका निजी सवारी साधन चल्न पाउनेछन् ।

यस्तै बार अनुसार पसल सञ्चालन गर्न पाइनेछ । ट्याक्सीहरूलाई पनि जोर-बिजोर लागू गरेर चलाउन दिइने निर्णय भएको काठमाडौँ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनु भयो । ‘आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न दिइने निर्णय भएको छ,’ ‘सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न दिइनेछ।’

खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ । यस्तै निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ।

Comments