• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

उपत्यकाको निषेधाज्ञा आजदेखि केही खुकुलो

  • OVN
  • June 15, 2021
उपत्यकाको निषेधाज्ञा आजदेखि केही खुकुलो

काठमाडौँ- कोभिड–१९ सङ्क्रमण घट्न थालेपछि काठमाडौँ उपत्यकामा आजदेखि लागू निषेधाज्ञालाई केही खुकुलो बनाइएको छ। तीन वटै जिल्लामा एकैसाथ लागू भएको निषेधाज्ञा असार ७ गते राति १२ बजेसम्मका कायम रहनेछ। काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का प्रजिअसहित जेठ ३० गते बसेको संयुक्त बैठकले निषेधको आदेशलाई खुकुलो बनाउँदै असार १ देखि ७ गतेसम्म थप्ने निर्णय गरेको थियो।  

थपिएको निषेधाज्ञामा भने अत्यावश्यक खाद्य सामग्री खरिद/बिक्रीका लागि बिहान ११ बजेसम्मको समय तोकिएको छ। यसअघि ९ बजेसम्मका लागि मात्रै खुला थियो। उक्त सामानको ढुवानी भने राति ९ बजेदेखि बिहान ११ बजेसम्म मात्र गर्न पाइने छ। पुस्तक पसल र प्रिन्टिङ प्रेस पनि बिहान ११ बजेसम्म खुला गरिएको छ। विकास निर्माणजन्य सामग्री पसल (छड, सिमेन्ट, विद्युत, सेनीटरी, हार्डवेयर पसल) दिउँसो ४ बजेपछि मात्रै सञ्चालन गर्न सकिने र ठूलो परिमाणको ढुवानी राति मात्र गर्न पाइनेछ।

अत्यावश्यक वस्तुको अनलाइन तथा टेक अवे सेवा होम डेलिभरी गर्न पाइने छ। त्यसका लागि साँझ ७ बजेसम्म मात्र खुला गरिएको छ। सवारी साधनका मर्मत सेन्टर राति ९ बजेसम्म चल्न दिने भनिएको छ। नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको प्रयोग गरी कृषि कार्य गर्न सक्ने र त्यसका लागि आवश्यक मल, बीउ, कृषि औजारका सामग्रीको सहज ढुवानी गर्न सकिने आदेशमा छ। अत्यावश्यक उद्योग सञ्चालन तथा निर्माणका लागि स्वास्थ्यको मापदण्ड पालना गरी आवासीय रूपमा कामदार राखेर सञ्चालन गर्न भनिएको छ। निर्माण सामग्रीको ढुवानी भने राति ९ देखि बिहान ५ बजेसम्म मात्र गर्न पाइने छ। अनलाइनबाट पठनपाठन गर्न सकिनेछ।

बैँक तथा वित्तीय संस्थाले सीमित सङ्ख्यामा जनशक्ति परिचालन गरी सेवा सञ्चालन गर्न सक्नेछन्। बीमा समिति, बीमा कम्पनी र धितोपत्र बोर्डले आलोपालो गरी २० प्रतिशत जनशक्ति राखेर सञ्चालन गर्न सक्नेछन्। सहकारी संस्था र रेमिट साताको आइतबार र बिहीबार सञ्चालन गर्न दिइने आदेशमा उल्लेख छ। विवाहमा सात जना सहभागी हुन सक्ने र एउटा गाडी मात्रै प्रयोग गर्न सक्ने छन्  तर पार्टी प्यालेसमा विवाह ब्रतबन्ध रोक लगाइएको छ। अन्य भीडभाडका गतिविधिमा भने पूर्ण रोक लगाइएको र बाँकी विगतको आदेशमा उल्लेख भएअनुसार हुनेछ।
-रासस 

Comments