काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत १ सय ७७ ओटा व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम सञ्चालन भएका छन् ।
कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यका साथ आर्थिक वर्ष २०७३/०७४ देखि सुरु गरिएको परियोजना अन्तर्गत ३ सय ओटा जोन विकास कार्यक्रम सञ्चालन गर्ने लक्ष्य छ । लक्ष्य अनुसार हालसम्म १ सय ७७ ओटा जोन कार्यक्रम सञ्चालन भएको परियोजनाका निर्देशक हिक्मतकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
परियोजनाको अन्त्यसम्ममा देशभरी २१ वटा सुपरजोन, ३ सय वटा जोन, १५ सय वटा ब्लक र १५ हजार वटा पकेट स्थापना गर्ने लक्ष्य छ । जोन र सुपरजोनबाट ११ लाख किसान लाभान्वित हुने अनुमान गरिएकोमा हालसम्म ७ लाख किसान लाभान्वित भएका छन् ।
परियोजनाका लागि आवश्यकताअनुसारको बजेट विनियोजन नहुँदा पनि योजना कार्यान्वयनमा समस्या भइरहेको छ । लक्ष्यअनुसार हालसम्म ५८ अर्ब बजेट विनियोजन भइसक्नुपर्नेमा ३९ अर्ब मात्र विनियोजन भएको छ । त्यसमा पनि जोन र सुपर जोनका लागि विनियोजन भएको २१ अर्ब ५७ करोड मध्ये १४ अर्ब ३५ करोड रुपैयाँ मात्र खर्च भएको छ ।