काठमाडौँ, प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक सङ्गठनलाई विधि र प्रणालीमा अघि बढाउने चालेको कदम सोचेभन्दा सन्तोष ढङ्गबाट अघि बढेको बताउनुभएको छ। नेपाली सेनाको नेतृत्व संहालेको एक हजार दिन पूरा भएको उपलक्ष्यमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले घोषणा गरेका कार्यक्रम कार्यन्वयनका लागि गरिएको प्रतिबद्धता, लिएको सङ्कल्प र अठोटको कसीबाट मूल्याङ्कन गरिंदा सन्तोष लिने धेरै ठाउँ रहेको स्पष्ट गर्नुभयो।
उहाँले भन्नुभयो, “सैनिक ऐनको मस्यौदा तयार, प्रतिरक्षा विश्वविद्यालय स्थापना, सङ्गठनको तीन प्लस वान कमाण्ड अवधारणा, सिपाहीको १६ वर्षमा पेन्सन हुने व्यवस्था र सङ्गठन पुर्नसरचना योजनाजस्ता महत्वपूर्ण एवं दूरगामी कार्यक्रम अघि बढेको छ।” प्रधानसेनापति थापाको कार्यकालमा सफा हिमाल अभियान, सिपाहीसग प्रधानसेनापति सम्वाद, तीन महिने रोलकल, सैनिक आचार सप्ताह, राशन गुणस्तरमा सुधारजस्ता कार्यक्रम कार्यान्वयनमा ल्याइएको थियो।
प्रधानसेनापतिमा २०७५ भदौ २४ गते तीन वर्षे कार्यकालका लागि नियुक्ति पाउनभएका थापाको कार्यकाल आगामी भदौ २३ गतेम्म रहेपनि आजैदेखि नेतृत्व हस्तान्तरण प्रकृयाको विन्दु प्रारम्भ गरेको जानकारी दिनुभयो। प्रधानसेनापति थापाले सकल दर्जालाई एक हजार दिन पुगेको उपलक्ष्यमा सम्बोधन गर्दै अब आफू नेतृत्व हस्तान्तरण प्रकृया विन्दुको चरणमा पुगेको जानकारी गराउनुभएको थियो।
सङ्गठनको ओज र गरिमा बढाउन आफूले चालेका विधि, प्रकृया, प्रणाली र पद्दति पूर्ण कार्यान्वयन भएसँगै सेनाको शान, मान र सम्मान स्वतः स्थापित हुने बताउँदै प्रधानसेनापति थापाले मातृधर्मलाई आत्मसात गर्दै देश र जनताको हितमा काम गरेकै कारण सबैको विश्वासमा काम गर्न अनुकूलता मिलेको हो भन्नुभयो। उहाँले भन्नुभयो, “सङ्गठनभित्र आउने जस्तो सुकै समस्या विधि र प्रणालीका आधारमा समाधान खोज्ने नेतृत्वमा अठोट हुनुपर्छ।”
एक प्रश्नको जवाफमा उहाँले कोरोना नियन्त्रणका लागि सम्पूर्ण तह र तप्काबाट सामूहिक भावना र पहल हुनुपर्छ, आवश्यकता अनुसार रणनीतिलाई पुनरावलोकन गर्दै अघि बढनुपर्नेमा जोड दिनुभयो। सञ्चारकर्मीको जिज्ञासामा प्रधानसेनापति थापाले सैनिक सङ्गठनभित्र ठेक्कापट्टाका नाममा अनियमित र दायाँवायाँको कुनै सम्भावना र गुन्जायसको अवस्था नरहेको स्पष्ट पार्नुभयो । प्रधानसेनापति थापाले कोभिड–१९ सङ्क्रमण नियन्त्रण प्रतिकार्यमा विशेष योगदान पु¥याएका दुई हजार १०९ जना सकल दर्जालाई प्रधानसेनापति प्रशंसा पदक प्रदान गर्नु भएको थियो।
-रासस