• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

दुई महिना मेलम्चीको पानी नआउने

  • OVN
  • June 10, 2021
दुई महिना मेलम्चीको पानी नआउने

काठमाडौँ-  काठमाडौँ उपत्यकावासीले झण्डै दुई महिना मेलम्चीको पानी नपाउने  भएका छन्। मेलम्ची खानेपानी विकास समितिले आउँदो असार १ गतेबाट आयोजनाको सुरुङ खाली गरेर निरीक्षण गर्ने भएकाले तत्कालका लागि मेलम्चीबाट पानी नआउने भएको हो। 

समितिले आज सूचना जारी गर्दै मेलम्ची नदी, सिन्धु, ग्याल्थुमलगायतका क्षेत्रमा र बाग्मती नदीमा समेत पानीको बहाब बढ्न सक्ने भएकाले स्थानीयवासीलाई सचेत रहन अनुरोध गरेको छ। ती नदी किनारमा नजाने र जानै परेमा विशेष साबधानी अपनाएर जान भनिएको छ। 

सुरुङ खाली गर्न झण्डै १६ दिनसमेत गरी सुरुङ निरीक्षणको अवधि झण्डै दुई महिना लाग्नेछ। सुरुङ निरीक्षणसँगै परीक्षण, सुधार र पुनः पानी भर्नका लागि समय लाग्नेछ। वर्षा पहिले नै सुरुङ खाली गरेर निरीक्षण र आवश्यक सुधार गर्नुपर्ने छ। 

आयोजनाले गत फागुन १० गते मेलम्ची नदीको पानी पथान्तरण गरी सुरुङ परीक्षण शुरु गरेको थियो। परीक्षण शुरु भएको १२ दिनपछि सुन्दरीजलमा पानी आइपुगेको थियो। काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले गत वैशाख ६ देखि नै उपत्यकामा मेलम्चीको पानी वितरण शुरु गरेको थियो।
-रासस

Comments