सिन्धुपाल्चोक । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनसँगको व्यापारिक नाका तातोपानी नाका पूर्ण रुपमा खुलाउने काम प्राथमिकतामा रहेको बताउनुभएको छ ।
सिन्धुपाल्चोक क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य माधव सापकोटा नेतृत्वको टोलिबाट हिजो खुमलटारमा नाका खुलाउने सन्दर्भमा ज्ञापनपत्र बुझेपछि प्रचण्डले नाका खोल्ने विषयमा आफू लगातार लागिपरेको बताउनुभएको हो ।
दोस्रो पटक प्रधानमन्त्री भएपछि आफूले चिनियाँ राष्ट्रपति सि जिन पिङ्सँग नाका खुलाउने विषयमा छलफल गरेको स्मरण गर्दै उहाँले तातोपानी नेपालीहरूको व्यवसाय र नेपालको व्यापारिक दृष्टिबाट महत्वपूर्ण रहेको स्पष्ट पार्नुभयो ।
चिनियाँ पक्षसँगको हरेक भेटमा तातोपानी नाका छलफलको विषय बनेको स्मरण गर्दै प्रचण्डले यसको ऐतिहासिक पक्षबारे पनि चीनलाई जानकारी गराइएको बताउनुभयो । चिनियाँ राजदूत हाउ यान्छीसँगको विदाइ भेटमा पनि आफूले यसबारे कुराकानी गरेको र सकारात्मक जवाफ पाएको प्रचण्डको भनाइ थियो ।
ज्ञापनपत्र बुझाएपछि प्रतिनिधि सभा सदस्य माधव सापकोटाले नेपाल–चीनबीचको प्रमुख व्यापारिक केन्द्र तातोपानी नाका सहज रुपमा सञ्चालन र अरनिको राजमार्गको स्तरोन्नतिका लागि अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराउनुभएको थियो ।