• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

टरीगाउँ विमानस्थलबाट सस्तोमा यात्रा गर्न पाइने दाङबासीको अपेक्षा

  • OVN
  • February 05, 2023
टरीगाउँ विमानस्थलबाट सस्तोमा यात्रा गर्न पाइने दाङबासीको अपेक्षा

दाङ । दाङको टरीगाउँ विमानस्थलमा केही दिन अघि सीता एयरले परीक्षण उडान गरेसँगै स्थानीयवासीमा यात्रा नियमित र सस्तो हुने आशा पलाएको छ । 

यसपटकचाँहि नियमित उडान हुनेमा दाङका नागरिक आशावादी भएका हुन् । दाङको टरीगाँउ विमानस्थलबाट नेपाल एयरलाइन्सले काठमाडाँैसम्मको उडान भर्दै आएको थियो । तर सेवा नियमित नहुनुका साथै हवाइ भाडा पनि महङ्गो हुँदा सर्वसाधारण नागरिक निराश बनेका थिए । 

हाल निजी हवाइ कम्पनी सीता एयरले परीक्षण उडान गरेपछि सेवा नियमित हुने र हवाइ भाडा पनि घट्ने आशा रहेको स्थानीयवासी डिल्लीबहादुर रावतले बताउनुभयो । तुलसीपुरमा रहेको विमानस्थलको स्तरोन्नति र नियमित उडानका लागि स्थानीय सरकार र विभिन्न सङ्घसंस्थाले पहल गर्दै आएका थिए । 

तुलसीपुर उपमहानगरपालिकाले पनि यात्रु खोज्ने र हवाइ सेवालाई नियमित गर्न सघाउने नगर प्रमुख टिकाराम खड्काले बताउनुभयो । हवाइ जहाजको माध्यमबाट काठमाडौदेखि दाङ आउन ४५ मिनेट समय लाग्छ । तर विमानस्थलको धावनमार्ग सानो भएका कारण ठूला जहाज अवतरण गर्न समस्या छ । 

धावनमार्गलाई विस्तार गर्नुपर्ने, आकाशमा उड्ने चराको नियन्त्रण र एयरपोर्टको उत्तरतर्फ रहेका घरमा राखिएका पानीका ट्याङ्की र पोल हटाउन विमान चालक रविन्द्र डङ्गोलको सुझाव छ ।  टरिगाउँ विमानस्थलमा परीक्षण उडान भरेको सीता एयरले पहिलो चरणमा हप्तामा एक पटक दाङ काठमाडौँ उडान भर्नेछ । उडान परीक्षणपछि प्राविधिक समस्या, यात्रु लगाएतका विषयमा बोर्डमा छलफल गरेर केहि दिनपछि नियमित उडान भर्ने तयारी छ । 
 

Comments