ताप्लेजुङ । ताप्लेजुङमा तितेपाती खेती गरेर स्थानीयवासीले आम्दानी गर्न थालेका छन् ।
बाख्रालाई सोतर तथा घाँसको रूपमा प्रयोग गरिने तितेपाती अहिले नगदेबाली बन्न थालेको हो । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकास्थित नाङ्खोल्याङ्का सनम गुरुङले तितेपाती खेती गरेरै वर्षको आठ लाख रुपैयाँसम्म कमाइ हुने जानकारी दिनुभयो ।
गुरुङले तीन लाख रुपैयाँको लगानीमा करिब २४ रोपनी जमिनमा तितेपाती लगाउनुभएको छ । ताप्लेजुङमा उत्पादित तितेपाती जापानलगायतका देशमा निर्यात हुने र मनग्य आम्दानी भएको देखेपछि गाउँका अन्य किसान पनि तितेपाती खेतीमा आकर्षित भएका छन् । बुढेसकालमा काम पनि सहज हुने भएकाले तितेपाती लगाउने योजनामा रहेको स्थानीय मयानाथ गौतमले बताउनुभयो ।
महिनामा २ पटकसम्म पात र डाँठ टिपेर सुकाएपछि बिक्री गर्नलाई योग्य हुन्छ । यसको सुकेको पात तथा डाँठ प्रतिकिलो ५० रुपैयाँमा बिक्री हुने किसानहरू बताउँछन् । निर्यात बढ्न सक्ने देखिएपछि खेतिका लागि किसानलाई पे्ररित गर्ने पाथीभरा याङवरक गाउँपालिकाका अध्यक्ष केशर मेन्याङ्वोको भनाइ छ ।
काठमाडाँै स्थित यमाह्सो कम्पनीले तितेपाती खरिद गरिरहेको र यसबाट तयार हुने सामग्री जापान निर्यात हुँदै आएको छ । स्थानीय सरकारले अनुदानको व्यवस्था गरेमा तितेपातीको व्यावसायिक खेती अझै फस्टाउने किसानहरू बताउँछन् ।