ताप्लेजुङ । ताप्लेजुङको पापुङमा हिजो दिउँसो एक घर र मतानमा आगलागी हुँदा करिब ७२ लाख रुपैँयाभन्दा बढीको क्षति भएको छ ।
मिक्वाखोला गाउँपालिका ५ पापुङथित सिम्बुकका स्थानीय पासाङ थुण्डुक शेर्पाको घर र मतान जलेर पुर्ण रुपमा नष्ट हुँदा ७२ लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना समन्वय अधिकृत तथा प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आगलागीबाट ७ तोला सुन, ५० तोला चाँदी, तामाका भाडाकुँडा, गाग्री, थाल, लत्ताकपडा, खाद्यान्न लगायतका सामग्री जलेर नष्ट भएका छन् । ढुङगा–माटोले बनेको तीन तले घर र मतान जलेर पुर्ण रुपमा नष्ट भएको पापुङका वडाध्यक्ष ग्याल्जे शेर्पाले जानकारी दिनुभयो ।
बिहान खाना पकाउँदा प्रयोग गरिएको आगो राम्रोसँग ननिभेका कारण आगलागी भएको हुनसक्ने स्थानीयवासीको अनुमान छ छ । ताप्लेजुङमा निरन्तर आगलागीका घटना हुने गरेका छन् । केही अगाडिमात्र फुङलिङ, थिलङलाबु, हाङदेवा लगायतका क्षेत्रमा आगलगीबाट घर जलेर नष्ट हुँदा लाखौँ मूल्यको क्षति भएको थियो ।