ताप्लेजुङ । ६१ वटा वडा रहेको ताप्लेजुङको आधाभन्दा बढी क्षेत्रमा अझै पनि राष्ट्रिय प्रसारण लाईनको विद्युत पुग्न सकेको छैन ।
राष्ट्रिय प्रसारण लाईन नपुगेका क्षेत्रहरूमा ग्रामीण विद्युतीकरण सवस्टेशन निर्माण आयोजना अन्तर्गत १८ महिनाभित्र ताप्लेजुङलाई पूर्ण विद्युतीकरण गर्ने गरी काम भइरहेको छ । आयोजना निर्माणको लागि सर्भे समेत सम्पन्न गरेको र सामग्री आयात गर्ने तयारीमा रहेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र ताप्लेजुङका प्रमुख प्रदिप कुमार शर्माले जानकारी दिनुभयो । यदि समयमा काम सकिए १८ महिनापछि ताप्लेजुङका दुर दराजका बस्तीहरू पनि उज्यालो हुने अनुमान गरिएको छ ।
जिल्लामा हाल एउटा मात्र सवस्टेशन छ । अब ढुङ्गेसाँघु, थुकीमा, लेलेप र सिनाममा गरी चार ओटा क्षेत्रमा सवस्टेशन निर्माण गरी विद्युत विस्तार गर्ने तयारी छ । स्थानीय तहले समन्वयकारी भुमिका निर्वाह गरी सहयोग गर्ने भएकाले बेलैमा काम सम्पन्न हुने पाथीभरा याङवरक गाउँपालिकाका अध्यक्ष केशर मेन्याङ्बोले बताउनुभयो ।
स–साना जलविद्युतबाट उत्पादित विद्युत भए पनि भरपर्दाे अवस्था नरहेको स्थानीयवासी बताउँछन् । त्यसैले विद्युतको केन्द्रीय प्रसारण लाईन जडानको कार्यमक्रमले खुसी लागेको मेरिङदेन गाउँपालिका ६ का स्थानीयवासी निर्मला बराईलीको भनाइ छ ।
सदरमुकादेखि धेरै टाढा रहेको क्षेत्र याङमा, ओलाङचुङगोला र घुन्सामा भने सोलार जडानको लागि छुट्टै सर्भे गरेर अध्ययनको काम भइरहेको छ । विद्युतीकरणको आयोजना अन्तर्गत करिब १५ हजार ओटा पोल गाड्नु पर्नेछ भने, एक सय ४० ओटा ट्रान्सफर्मर जडान हुनेछन् ।