नुवाकोट । रसुवागढी नाका दुईतर्फी सञ्चालन भएसँगै सामान निर्यात बढेको छ ।
रसुवागढी नाकाबाट करिब तीन वर्षपछि नेपाली सामान चीनतर्फ निर्यात सुरु भएको हो । तीन दिनको अवधिमा रसुवागढी नाकाबाट ११ थान डिब्बामा विभिन्न सामान चीनतर्फ निर्यात भएको रसुवाका प्रमुख भन्सार अधिकृत नारायण भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाली हस्तकलाका सामग्री, कार्पेट, बाँसका मुढा, नेपाली कागजलगायतका एक करोड ३१ लाख रुपैयाँ बराबरका सामानहरू रसुवागढी नाकाबाट चीनको केरुङ पुगेका छन् ।
यसअघि, रसुवागढी नाका भएर चीनतर्फ नेपाली हस्तकलाका सामान, मैदा, चाउचाउ, खुर्सानी, बाँसका मुढा, कुचो, नेपाली कागजलगायत एक सयभन्दा बढी प्रकारका सामग्री चीन निर्यात हुने गरेको थियो ।
रसुवागढी नाकालाई चीनले गत सन् २०१७ को सेप्टेम्बर १ तारिखदेखि अन्तर्राष्ट्रिय नाकाको रुपमा मान्यता दिएको थियो ।