काठमाडौं । तालहरूको सहरका रुपमा परिचित पोखरामा २० जना महिलाले डुङ्गा चलाउँदै जीविकोपार्जन गरिरहेका छन् ।
डुङ्गा व्यवसायी समितिका अनुसार करिब २०४२ सालबाट तीन जना महिलाले व्यावसायिक रुपमा डुङ्गा चलाउन थालेका थिए । पछि झन्डै ५० जना पुगेको महिला डुङ्गा चालकको सङ्ख्या अहिले २० मा झरेको छ ।
डुङ्गा चालक लक्ष्मी कार्कीले नियमित आम्दानी नहुनु, महिला र पुरूष डुङ्गा चालकको ज्यालामा विभेद गरिनु र पेशालाई लिएर मानिसहरूले अनेक टिकाटिप्पणी लगायतका कारण महिला डुङ्गा चालक विस्थापित हुँदै गएको जानकारी दिनुभयो ।
बाराही, फिस्टेल, अम्बोट, गौरी, पहारी, स्वीमिङपुल, फेवा र बङ्लादी गरी आठ घाटमा अहिले ७ सय ७५ जना डुङ्गा चालक छन् । पर्यटन विभागको तथ्याङ्क अनुसार नेपाल घुम्न आउने विदेशी पर्यटक मध्ये झन्डै ४० प्रतिशत पोखरा पुग्ने गरेका छन् ।
अधिकांश पर्यटकले पोखरा पुगेपछि डुङ्गा चढ्ने गरेका छन् । यसबाट डुङ्गा चालकको जीविका चलेको छ ।