• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

तिलगङ्गा आँखा अस्पताललाई विश्वविद्यालयमा रुपान्तरण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

  • OVN
  • January 21, 2023
तिलगङ्गा आँखा अस्पताललाई विश्वविद्यालयमा रुपान्तरण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तिलगङ्गा आँखा अस्पताललाई विश्वविद्यालयका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

तिलगङ्गा आँखा केन्द्रका निर्देशक डा सन्दुक रुइतले प्रधानमन्त्री दाहालसँग भेट गर्ने क्रममा यससम्बन्धी चासो राखेपछि प्रधानमन्त्री दाहालले त्यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । “तिलगङ्गा अस्पताललाई विश्वविद्यालयका रुपमा विकास गर्न अत्यन्तै सकारात्मक छु”, उहाँले भन्नुभयो, “यससम्बन्धी आवश्यक नीतिगत सुधारका लागि आवश्यक पहल हुन्छ ।”

भेटका अवसरमा प्रधानमन्त्री दाहालले मानवीय सेवाका लागि डा रुइतले हालै मात्र बहराइन सरकारद्वारा प्रदान हुँदै आएको ‘इसा अवार्ड’ प्राप्त गरेकोमा बधाई दिँदै यो सम्मानले नेपालको शिर उच्चो राखेको बताउनुभयो । 

“यो अवार्डले देशकै सम्मान बढाएको छ । नेपालमा अन्तर्राष्ट्रियस्तरका दक्ष जनशक्ति छन् भन्ने सन्देश दिएको छ”, उहाँले भन्नुभयो, “मानवीय सेवाका लागि तपाईँको योगदानको कदर देशकै कदर हो ।” प्रधानमन्त्री दाहालले आँखाको उपचारका लागि सरकारका तर्फबाट आवश्यक अन्य सबै सहयोग गर्नेसमेत प्रतिबद्धता व्यक्त गर्नुभयो । 

भेटका अवसरमा डा रुइतले आँखा उपचारको क्षेत्रमा नेपालले नमूना काम गरेको बताउँदै मोतियाबिन्दुको उपचारका लागि नेपालमा नै औषधि उत्पादन गर्न सकिने सम्भावनाबारे जानकारी गराउनुभएको थियो । 

Comments