• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

शितलहरबाट नागरिकलाई जोगाउने तयारी गर्दै स्थानीय तहहरू 

  • OVN
  • December 22, 2022
शितलहरबाट नागरिकलाई जोगाउने तयारी गर्दै स्थानीय तहहरू 

काठमाडौं । शितलहरबाट नागरिकलाई जोगाउन तयारीहरू भइरहेको स्थानीय तहका जनप्रतिनिधिहरूले बताएका छन् । देशभर चिसो बढेको छ । 

चिसोयाममा खासगरी मधेशमा शितलहरका कारण नागरिकको मृत्यु हुने गरेको छ । मधेस प्रदेशको सामाजिक विकास मन्त्रालयले केही दिन यता बिहान बेलुका चिसो बढे पनि शितलहर सुरू भइनसकेको जनाएको छ । तत्काल शितलहर सुरु भइनसकेका कारण न्यानो सहयोग गर्ने तयारी भइरहेको पर्साको पोखरिया नगरपालिका प्रमुख प्रधुम्नप्रसाद चौहानले बताउनुभयो । 

सामान्यतया मानिसको शरीरको तापक्रम ८२ डिग्री फरेनहाइटभन्दा कम भएमा मृत्यु हुने जोखिम हुन्छ । चिसोका कारण शरिरको तापक्रम घट्दै जान्छ । शरिरलाई न्यानो बनाउने साधन नहुँदा विपन्न नागरिकको मृत्यु हुने गरेको छ । 

स्थानीय तहले न्याना कपडा र आगो ताप्न दाउरा वितरण गर्दै आए पनि यस्तो सहयोग पाउनबाट वास्तविक प्रभावित बन्चित हुने गरेका छन् । सप्तरीको कन्चनरुप नगरपालिकाका प्रमुख ललनप्रसाद गुप्ताले वास्तविक प्रभावितलाई नै न्यानो सहयोग उपलब्ध गराउने बताउनुभयो । 

चिसोका कारण विशेषगरि न्यानो कपडा र पौष्टिक खानेकुराको जोहो गर्न नसक्ने नागरिकलाई सास्ती हुने गरेको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला १० वर्षमा १ सयभन्दा बढी नागरिकको चिसोका कारण मृत्यु भएको छ ।

नागरिकलाई चिसोबाट जोगाउन बर्सेनि न्यानो कपडा र दाउरा वितरण गरिँदै आए पनि दिगो समाधानको उपाय भने खोजी गरेको पाइँदैन । 
 

Comments