ललितपुर- वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी दशौँ दिनमा अस्पतालबाट घर फर्किनुभएको छ । उहाँलाई श्वासप्रश्वास, छाति,मुटुका चालमा समस्या तथा रक्तचापमा समेत कमी देखिएपछि ग्वार्काेस्थित किष्ट शिक्षण अस्पतालमा गत जेठ २६ गते भर्ना गरी उपचार शुरुआत गरिएको थियो।
उहाँको स्वास्थ्यमा पूर्ण सुधार भएपछि आज दिउँसो घर पठाइएको अस्पतालका निर्देशक सुरज बज्राचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “शताब्दी पुरुषका छातिमा समस्या देखिएपछि हामीले अस्पतालमा भर्ना गरेका थियौँ । उहाँमा कोरोना सङक्रमणको पनि परीक्षण भयो । सङ्क्रमण देखिएन । रक्तचाप नियन्त्रणमा आएको छ । क्षयरोगको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ। ”
लामो उमेरका कारण निमोनियाले असर गर्ला भनी नौ दिन अस्पतालमा राखेर दशौँ दिनमा घर पठाएको निर्देश बज्राचार्यले जानकारी गराउनुभयो । उहाँले एकहप्तापछि फलोअपका लागि शताब्दी पुरुषलाई चिकित्सकले स्वास्थ्य जाँच गर्नेछन् । अस्पतालले केही समय पहिले शताब्दी पुरुष जोशी र उहाँका धर्मपत्नी राधादेवीको आजीवन निः शुल्क उपचार गर्ने प्रतिवद्धता जनाएको थियो । नेपाली भाषा, कला, संस्कृतिको संरक्षणमा विशेष योगदान दिँदै आउनुभएका शताब्दी पुरुष जोशी गत वैशाख ३० गतदेखि १०१ वर्ष पुरा गरी १०२ वर्षमा प्रवेश गर्नुभएको छ।
-रासस