• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

शान्ति निकुञ्ज माविमा अक्सिजनसहित आइसोलेशन केन्द्र, बिरामीलाई निःशुल्क खाना, औषधि र चिकित्सकीय परामर्श

  • OVN
  • May 27, 2021
शान्ति निकुञ्ज माविमा अक्सिजनसहित आइसोलेशन केन्द्र, बिरामीलाई निःशुल्क खाना, औषधि र चिकित्सकीय परामर्श

काठमाडौँको शान्ति निकुञ्ज माध्यमिक विद्यालय मरुमा अक्सिजनसहितको आइसोलेशन केन्द्र स्थापना गरिएको छ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि नेपाली कांग्रेस काठमाडौँका नेता राजुराज जोशीको विशेष पहलमा काठमाडौँ महानगरपालिका–२० स्थित शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा बुधबारदेखि आइसोलेशन केन्द्र सञ्चालनमा आएको हो।

शुरुमा १० शय्याको अक्सिजनसहितको आइसोलेशन केन्द्र निर्माण गरिए पनि यसै हप्तामा २० शय्याको आइसोलेशन केन्द्र निर्माण गरिने नेता जोशीले राससलाई जानकारी दिनुभयो। “कोरोनाको लक्षण देखिएर घरमा बस्न समस्या पर्ने सङ्क्रमितलाई लक्षित गरेर आइसोलेशन केन्द्र स्थापना गरेका हौँ”, उहाँले भन्नुभयो।

उक्त आइसोलेशन केन्द्रमा चार नर्सले २४ सै घण्टा सेवा प्रदान गर्नेछन्। आइसोलेशन केन्द्रको व्यवस्थापन भने काठमाडौँ महानगरपालिका–२० का वडाअध्यक्ष राजेन्द्र मानन्धरको नेतृत्वमा हुनेछ।

आइसोलेशनमा बस्ने बिरामीलाई निःशुल्क खाना, औषधि र चिकित्सकीय परामर्श दिने नेता जोशीको भनाइ छ ।

Comments