• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

स्वास्थ्य मापदण्ड पूरा गरी यातायात चलाउन प्रशासन सकारात्मक

  • OVN
  • June 25, 2021
स्वास्थ्य मापदण्ड पूरा गरी यातायात चलाउन प्रशासन सकारात्मक

काठमाडौँ-  स्वास्थ्य मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न प्रशासन सकारात्मक रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । व्यवसायी र अधिकारीहरूबीच बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा छलफल भएको थियो । करिब दुई महिनाअघिदेखि सार्वजनिक यातायात थन्किँदा मजदुर, सवारी धनी मर्कामा परेको महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य बताउनुभयो।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलगायत अधिकारी स्वास्थ्य मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा सकारात्मक पाएको उहाँले जानकारी दिनुभयो । कोरोनाको जोखिम कायमै रहेकाले सावधानीपूर्वक यातायात चलाउने विषयमा छलफल भएको थियो । जोरबिजोर गरेर सवारी चलाउँदा यात्रु कोचाकोच गरेर राख्नुपर्ने अवस्था आउने भएकाले सबै सवारी चलाउनुपर्ने व्यवसायीको माग छ । स्वास्थ्य मापदण्ड पूरा गरे नगरेको अनुगमनको व्यवस्था गर्नुपर्ने विषय पनि छलफमा उठेको थियो।

 काठमाडौँ उपत्यकामा मात्र नभई उपत्यकाबाट बाहिर जाने सवारी पनि खुला गर्न व्यवसायीले माग गरेका छन् । सार्वजनिक यातायात चलाएपछि सबै क्षेत्र चलायमान हुने भएकाले सावधानीपूर्वक चलाउने व्यवस्था मिलाउनुपर्ने यातायात व्यवसायीको माग छ । प्रमुख जिल्ला अधिकारी पराजुलीले गृहसचिव र मुख्यसचिवसँग सल्लाह गरेर १३ गतेसम्म निर्णय गर्ने प्रतिबद्धता जनाउनुभएको छ । महासङ्घले सार्वजनिक यातायातका चालक, सहचालकलाई अनिवार्यरूपमा खोप लगाउने व्यवस्था गर्न पनि माग गरेको छ।
-रासस

Comments