• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

८ सदस्यीय मन्त्रिपरिषद गठन

  • OVN
  • December 26, 2022
८ सदस्यीय मन्त्रिपरिषद गठन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ८ सदस्यीय मन्त्रिपरिषद गठन गर्नुभएको छ । 

आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्रीले शपथ लिएसँगै ३ उपप्रधानमन्त्री र ४ मन्त्रीले शपथ लिएका छन् । उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने रहेका छन् । 

पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालय सम्हाल्नु हुने छ ।  मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहेका छन् । उनीहरूको कार्यभार पछि तोकिने छ । 

नवनियुक्त प्रधानमन्त्री  ‘प्रचण्ड’ सहित मन्त्रीहरूले आज अपराह्न राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिनुभएको हो । 

शपथ ग्रहण समारोहमा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, माधवकुमार नेपाल र बाबुराम भट्टराई उपस्थित हुनुहुन्थ्यो । त्यस्तै पूर्वमन्त्रीहरू तथा कूटनीतिक नियोगका प्रमुखहरू पनि शपथ ग्रहण समारोहमा उपस्थित भएका थिए ।

नेपालको ४४ औँ प्रधानमन्त्रीका रुपमा प्रचण्डलाई हिजो राष्ट्रपतीले नियुक्त गर्नुभएको थियो । उहाँलाई नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन छ ।
 

Comments