• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्री रावलले विश्वासको मत लिने प्रक्रिया अन्योलमा 

  • OVN
  • February 08, 2023
सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्री रावलले विश्वासको मत लिने प्रक्रिया अन्योलमा 

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूची रहेको आजको बैठक स्थगित भएको छ । 

नागरिक उन्मुक्ति पार्टीका सांसद उपस्थित नहुने भएपछि मुख्यमन्त्रीले भोलिका लागि बैठक सार्न प्रदेशसभा सचिवालयमा अनुरोध गर्नुभएको थियो । सोही कारण  आजको लागि निर्धारित बैठक स्थगित गरेर भोलि १ बजेका लागि राखिएको प्रदेशसभा सचिवालयका सचिव देबबहादुर बोगटीले जानकारी दिनुभयो । 

मुख्यमन्त्रीले विश्वासको मत पाउन नागरिक उन्मुक्ति पार्टी निर्णायक छ । आज बिहानसम्म सो पार्टीका सांसद काठमाडौंमै रहेका छन् । हिजो उनीहरूले मत नदिने निर्णय गरेका थिए । पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले भोलिसम्ममा विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता छ । 

भोलिसम्म विश्वासको मत लिन नसके उहाँ स्वतः पदमुक्त हुनुहुनेछ । सरकार नेतृत्वकर्ता दलका सांसदहरुले अन्तिम समयमा भए पनि विश्वासको मत पाउने विश्वास गरिरहेका छन् । तर नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले विश्वासको मत नदिन आफ्ना सांसदहरूलाई निर्देशन गरेपछि स्थिति पेचिलो बन्दै गएको छ । 

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टीका ७ सांसद छन् । यो संख्या प्रदेशको सरकार निर्माणदेखि संसद्का हरेक प्रक्रियामा निर्णायक छ  ।
 

Comments