काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले सरकार सत्तापक्षको र संसद प्रतिपक्षको भन्ने बेलायती सिद्धान्तलाई अभ्यास गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।
निर्वाचित भएपछि आज पहिलो पटक संसद बैठक सञ्चालन गर्दै सभामुख घिमिरेले संसदलाई रचनात्मक बनाउन लागिपर्ने बताउनुभयो ।
संसदीय व्यवस्थामा सत्तापक्ष आफ्नो नीति कार्यक्रम र योजनाका माध्यमबाट जनता समक्ष पुगेको हुन्छ भने प्रतिपक्ष दलहरू सत्तापक्षको नीतिगत र कार्यक्रमिक योजनाको गुण र दोषको बारेमा सत्तापक्षलाई सचेत र खबरदारी गर्ने गर्दछन्, सभामुख घिमिरेले भन्नुभयो ।
प्रतिपक्षको आवाजलाई उचित सम्बोधन गर्नका लागि संसदमा उसले तदअनुरुपको अवसर पाउनुपर्ने भएकोले बेलायतको संसदीय अभ्यासको क्रममा विकसित भएको सरकार सत्तापक्षको र संसद प्रतिपक्षको भन्ने मान्यतालाई संसदमा मुखरित हुन दिनुपर्छ भन्ने कुरामा आफू पनि सचेत रहेको रहेको उहाँको भनाइ रहेका थियो ।
उहाँले संविधान कानुन र नियमावलीले निर्दिष्ट गरेको व्यवस्था अनुसार नै सभा सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो ।