• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

सरकारमा रहने वा नरहने बारे रास्वपाले आज निर्णय लिने

  • OVN
  • January 29, 2023
सरकारमा रहने वा नरहने बारे रास्वपाले आज निर्णय लिने

१५ माघ २०७९ काठमाडौं । पूर्वअध्यक्ष रवि लामिछानेको नागरिकताको विषयमा सर्वोच्च अदालतले गरेको फैसलासँगै सरकारमा रहने वा नरहने भन्ने बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले आज साँझसम्ममा निर्णय गर्ने भएको छ । 

संसदीय दल र केन्द्रीय समितिको बैठक निरन्तर बसिरहेको र बेलुकासम्ममा निर्णयमा पुग्ने तयारी भइरहेको कार्यवाहक अध्यक्ष डोलप्रसाद अर्यालले बताउनुभयो । 

चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानेले अमेरिकाको नागरिकता त्यागेको तर नेपाली नागरिकता पुनः नलिएको भन्दै सर्वोच्च अदालतले पार्टी अध्यक्ष, सांसद र उपप्रधान तथा गृहमन्त्रीको पद खारेज भएको अस्ति निर्णय सुनाएको थियो । 

चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन भएमा लामिछानेलाई नै उम्मेदवार बनाउने तयारी रास्वपाको छ । यस बारेमा पनि कानुन व्यवसायीसँग छलफल भइरहेको कार्यवाहक अध्यक्ष अर्यालले जानकारी दिनुभयो । स्रोतका अनुसार लामिछानेले आज नेपाली नागरिकता लिने तयारी गर्नु भएको छ । 

रवि लामिछानेले राजिनामा दिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको छ । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै लामिछानेले राजीनामा दिएका कारण प्रधानमन्त्री दाहालले नै गृह मन्त्रालयको जिम्मेवारी सम्हालेको जानकारी दिएको हो । 
 

Comments