काठमाडौं । नयाँ सरकार बनेको दुई महिना पूरा नहुँदै राजनीतिक खटपट बढ्दै गएको छ ।
राष्ट्रपतिको चुनावमा माओवादी केन्द्रले राष्ट्रिय सहमति खोज्ने निर्णय गरेपछि सत्ता साझेदार दल नेकपा एमाले झस्किएको छ ।
यस्तै, जेलमा रहेका आफ्नो पार्टीका अध्यक्षसहितका नेताहरुलाई रिहा गर्नुपर्ने माग गर्दै आएको नागरिक उन्मुक्ति पार्टीले त्यही अडान राख्दै सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिन नसक्ने बताएको छ ।
यससँगै विश्वासको मत नपाउँदै सुदूरपश्चिम प्रदेश सरकार परिवर्तन हुने सम्भावना बढेको छ । एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपासमेतको समर्थनमा बनेको सरकारलाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने बताएसँगै प्रदेश सरकार सङ्कटमा परेको हो ।
नागरिक उन्मुक्ति पार्टीले समर्थन नगरेसम्म सरकारलाई बहुमत पुग्दैन । सुदुरपश्चिमका मुख्य मन्त्री राजेन्द्रसिंह रावलले हिजो विश्वासको मत लिने तयारी गरिएकोमा नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने बताएपछि प्रदेश सभाको बैठक नै आजसम्मका लागि स्थगित गरिएको छ ।