काठमाडौं । राष्ट्रिय फलफूल विकास केन्द्रले पछिल्लो ११ वर्षको अवधिमा सुन्तला खेती हुने क्षेत्रफल, उत्पादन तथा उत्पादकत्व बढ्दै गएको जनाएको छ ।
११ वर्ष अघि २२ हजारभन्दा धेरै हेक्टर क्षेत्रफलमा डेढ लाखभन्दा धेरै मेट्रिक टन सुन्तला उत्पादन हुने गरेको थियो । गत आर्थिक वर्षमा भने सुन्तला खेती हुने क्षेत्रफल बढेर २७ हजार हेक्टर पुगेको र त्यसमा पनि उत्पादनशील १८ हजार हेक्टरको खेतीबाट झन्डै २ लाख मेट्रिक टन सुन्तला उत्पादन भएको केन्द्रका वागवाणी विकास अधिकृत मधुसुदन घिमिरेले जानकारी दिनुभयो । सुन्तला खेति हुने क्षेत्रफल र उत्पादन बढे पनि भण्डारण गर्ने उपयुक्त प्रविधि नहुँदा समस्या भइरहेको छ ।
विज्ञहरूका अनुसार ओसिलो तर चिसो नभएको, छहारीसँगै हावाको प्रबन्ध र सीधा घाम नलाग्ने स्थानमा नखाँदिने हो भने १५ दिनसम्म सुन्तला भण्डारण गर्न सकिन्छ । भिरालो, गह्रा कान्ला परेको जग्गालाई खारेर अर्ध भूमिगत अवस्थाको घर बनाएर ३ महिनासम्म फलफूल भण्डारण गर्न सकिने सुन्तला जात फलफूल बाली विज्ञ हरिप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
यसका लागि थप जानकारी जिल्ला स्थित सम्बन्धीत कार्यालयमा सम्पर्क गर्न राष्ट्रिय फलफूल विकास केन्द्रले किसानलाई अनुरोध गरेको छ । केन्द्रका अनुसार फलफूलको भण्डारणका लागि देसभर १ सय २६ कोल्ड स्टोर अर्थात चिस्यान केन्द्र, १ सय २८ ओटा सेलार स्थापना गरिएको छ ।