काठमाडौं । सुनको मूल्य फेरि पनि बढ्न थालेको छ । हप्ताको अन्तिम दिन शुक्रवार सुन तोलाको १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा नै सुन महङ्गो भएकाले नेपालमा पनि भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले सीआईएनसँग कुरा गर्दै अहिलेको अवस्था हेर्दा सुनको मूल्यले योे हप्ता नयाँ किर्तिमान राख्नसक्ने देखिएको बताउनुभयो । तर बाहिर हल्ला चलेजस्तो तोलाकै दुई लाख रुपैयाँसम्म भने नपुग्ने दाबी गर्नुभयो ।
यसअघि गत फागुनमा सुनको मूल्य अहिलेसम्म कै महङ्गो तोलाको एक लाख ५ हजार ५ सय रूपैयाँ पुगेको थियो । त्यसयता घटेर ९१ हजारसम्म झरेको सुनको मूल्य फेरि बढ्न थालेको हो ।