काठमाडौं । प्रतिनिधि सभा निर्वाचन भएपछि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आजदेखि शुरु हुँदैछ ।
गत मङ्सिर ४ मा भएको प्रतिनिधि सभाको निर्वाचनको अन्तिम नतिजा घोषणा भएको ३० दिनभित्र अधिवेशन प्रारम्भ भइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज अधिवेशन शुरु हुन लागेको सङ्घीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो।
उहाँका अनुसार पहिलो बैठक ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा बस्नेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको आह्वानअनुसार आज दिउँसो १ बजे दुवै सदनको बैठक सुरु हुने धमलाले जानकारी दिनुभयो ।
पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका छ । अधिवेशनका बैठक यसअघिकै प्रतिनिधि सभाको नियमावलीअनुसार सञ्चालन हुनेछन् ।
पहिलो बैठकबाट प्रतिनिधि सभा नियमावली २०७५ लाई पुनः अनुमोदन गराउने तयारी भएको छ । यसअघि सर्वदलीय बैठकले अर्को व्यवस्था नभएसम्म पुरानै नियमावलीका आधारमा बैठक सञ्चालनको निर्णय गरेको थियो ।
अधिवेशन अन्तर्गत प्रतिनिधि सभामा भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यसूची रहेको छ । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।