काठमाडौं । प्रतिनिधि सभाको समानुपातिक निर्वाचनमा सहभागी राजनीतिक दलले निर्वाचन आयोगलाई खर्च विवरण बुझाएका छन् ।
समानुपातिकतर्फको थ्रेसहोल्ड कटाएका सात वटासहित ४७ वटा राजनीतिक दलले खर्च विवरण बुझाएका आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मङ्सिर २८ को ३५ दिन भित्र खर्च विवरण बुझाउनुपर्ने प्रावधान अनुसार नै दलहरूले विवरण बुझाएको बताउनुभयो ।
विवरणअनुसार सबैभन्दा धेरै खर्च नेकपा एकीकृत समाजवादीले गरेको छ । समाजवादीले समानुपातिक निर्वाचनमा एक करोड ९० लाख ८९ हजार रुपैयाँ खर्च गरेको छ । यस्तै, नेपाली काँग्रेसले १ करोड ५५ लाख ३२ हजार ५ सय ७८ रुपैयाँ, नेकपा एमालेले १ करोड ३३ लाख २६ हजार ६ सय ९३ रुपैयाँ, नेकपा माअोवादी केन्द्रले १ करोड ४ लाख ३ सय ४६ रुपैयाँ खर्च गरेका छन् ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले ३६ लाख ८६ हजार २ सय २५, जनता समाजवादी पार्टीले ३५ लाख, नेपाल मजदुर किसान पार्टीले २८ लाख ७६ हजार २५०, नागरिक उन्मुक्तिले १० लाख १३ हजार, लोकतान्त्रिक समाजवादी पार्टीले साढे ९ लाख, राष्ट्रिय जनमोर्चाले ३ लाख ९१ हजार ६५ रुपैयाँ र जनमत पार्टीले ३ लाख ८८ हजार रुपैयाँ खर्च गरेको विवरण बुझाएका हुन् ।