कञ्चनपुर- कृष्णपुर नगरपालिका १ निगालीका शारीरिक अपाङ्गता भएका लाली भुलले धेरै पटक नगरपालिका कार्यालयमा सामाजिक सुरक्षा भत्ताका लागि निवेदन दिए पनि भत्ताको रकम पाउन सक्नु भएको छैन । आवश्यक कागजात पुरयाउन नसक्दा उहाँ भत्ता पाउनबाट बञ्चित हुनु परेको हो।
नगरपालिका कार्यालयबाट उपलव्ध हुने भत्ताको रकम नपाएकोमा भने उहाँ चिन्तित हुनुहुन्न । भुललाई निड्स कञ्चनपुरले प्रिपेड कार्ड उपलव्ध गराएको छ।
कार्डबाट उहाँले आवश्यक सामान खरिद गर्दै आउनु भएको छ । लत्ताकपडा, खाद्यान्न, औषधिलगायतका सामान खरिद गर्ने कार्यसँगै आवश्यक परेको बेला नगदसमेत कार्डका माध्यमबाट झिक्दै आउनु भएको छ । “भत्ताका लागि नगरपालिका कार्यालयमा धेरै पटक पुग्दा कागजात नपुगको भनेर फर्काउने गरियो”, उहाँले भन्नुभयो, “घर खर्च चलाउन निकै असजिलो भएको अवस्थामा निड्सले सहयोग गरी गुन लगाएको छ।”
सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित रहेका, प्रक्रियामा रहेका र कोभिडबाट प्रभावित, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, एकल महिला, दलित पोषण भत्ताबाट बञ्चितलाई युके एडको आर्थिक सहयोगमा मर्सिकोर, प्लान इन्टरनेशनल र निड्सको साझेदारीमा सञ्चालित रेजिलियन्स प्लस अन्तर्गत आपतकालीन सहयोग कार्यक्रमका माध्यमबाट प्रिपेड कार्ड उपलव्ध गराइ भत्तावापतको रकम उपलव्ध गराइदै आएको छ।
कार्यक्रम अन्र्तगत कृष्णपुर र दोधारा चाँदनी नगरपालिकाका लक्षित व्यक्तिलाई कार्ड दिइएको छ । कार्डबाट रु १३ हजार ५०० मूल्य बरावरको सामान खरिद गर्न सकिन्छ । त्यसका लागि सम्बन्धित ठाउका पसलमा कार्ड स्वीप गर्नका लागि मेसिनको समेत व्यवस्था गरिएको छ।
कृष्णपुर नगरपालिकाका ४२० र दोधारा चाँदनीका ८८ जनालाई कार्ड उपलव्ध गराइएको निड्स कञ्चनपुरका निर्देशक भवराज रेग्मीले बताउनु भयो । उहाँले भन्नु भयो, “रकम जुन उद्देश्यका लागि खर्च गर्न उपलव्ध गराएका छौं सोही प्रयोजनका लागि खर्च हुन्छ । कार्डको प्रयोगले दुरुपयोग हुन पाउँदैन ।” कञ्चनपुरका कृष्णपुर, दोधारा चाँदनी र कैलालीको चुरे गाउँपालिका र घोडाघोडी नगरपालिकामा यो कार्यक्रम सञ्चालनमा रहेको छ।
-रासस