सोलुखुम्बु । सोलुखुम्बुका ग्रामिण सडकमा दुर्घटनाको जोखिम बढ्दै गएको छ ।
साँघुरा कच्ची सडक, सवारी चालकको लापरवाही र सवारी साधनको अवस्था जाँच नगर्ने प्रवृत्तिका कारण दुर्घटनाको जोखिम बढ्दै गएको हो । ग्रामिण भेगका सडक मर्मतमा सम्बन्धित पक्षले ध्यान नदिएको एक जना सवारी चालक सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपलिका २ कांगेलका मुन्द्रे बस्नेतले बताउनुभयो ।
साँघुरा, धुलो र ठूला ढुङ्गाहरू तथा पहिरो खसिरहने खालको ग्रामिण सडकमा दुर्घटनाको जोखिम रहेको हो । सडक निर्माण गर्दा नै गुणस्तरीयतामा ध्यान नदिँदा पनि दुर्घटनाको जोखिम बढ्दै गएको सोलुदुधकुण्ड नगरपालिका १० का नरेन्द्र थापा मगरको भनाइ छ ।
बर्खाको समयमा बाढी, पहिरोका कारण अवरुद्ध हुने सोलुखुम्बुका ग्रामिण सडकमा हिउँदमा धुलो र खाल्डाखुल्डीले झनै समस्या बनाउने गरेको छ । गाउँघरसम्म सवारी साधन चल्दा सर्वसाधरणलाई सहजता भए पनि गन्तव्यमा पु-याउन भने कठिन हुने गरेको टेम्पो चालक रबिन बराईलीले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/०७७ मा १७ वटा सवारी साधन दुर्घटना भएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा २३ वटा सवारी साधन दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख कृष्ण कट्वालले जानकारी दिनुभयो ।