धनगढी- वर्षायामको सुरुवातसँगै कैलालीको भजनी–सुखड सडक खण्ड हिलाम्य भएपछि आवतजावतमा समस्या हुनाका साथै दुर्घटनाको जोखिम बढेको छ।
सुखडबाट जिल्लाको सबैभन्दा पुरानो सदरमुकाम भजनीलाई जोड्ने २४ किलोमिटरको यो सडकमा सामान्य वर्षायामसँगै खाल्डाखुल्टी पर्दा पैदल यात्रु तथा सवारी साधनलाई आवतजावतमा समस्या भएको हो । यस सडक खण्डको समयमा स्तरोन्नति तथा मर्मत नहुँदा हरेक वर्ष वर्षायाममा आवत जावत गर्ने मानिसहरूले दुख पाउने गरेको छन्।
सडकको अवस्था दयनीय भएकोले आवतजावतमा कठिनाइ रहेको स्थानीयबासी बताउँछन् । भजनी–सुखड सडकमा साना ठुला खाल्डाखुल्टी परेर वर्षायाममा सडक हिलाम्य हुँदा हिँडडुल गर्न निकै नै समस्या भइरहेको घोडाघोडी नगरपालिका –७ कीर्तिपुरका निर्मला चौधरीको भनाइ छ । ‘‘हिलो र खाल्डाखुल्टीका कारण यो सडकमा हिँड्नै डर लाग्छ’’, उहाँले भन्नुभयो, ‘‘दिउँसो त जसोतसो हिँडडुल गरिन्छ तर राति हिँड्न धेरै खतरा छ ।’’ हुलाकी सडकसम्म गएर जोडिने उक्त सडक ग्रामीण क्षेत्रको मेरुदण्डकै रूपमा रहेकाले पनि सरकारले महत्ववपूर्ण मानेर मर्मत नगर्दा समस्या भएको चौधरीको धारणा छ।
सुखडदेखि भजनीसम्म जोड्ने यो सडकमा आवतजावत अत्यधिक हुने गरेको भए पनि सरोकारवाला निकायले यसको निर्माण तथा मर्मतमा ध्यान नदिँदा वर्सेनी जनताले दुःख पाउने गरेको घोडाघोडी नगरपालिका–३ का लखन चौधरीको गुनासो छ । चल्तीको सडक दयनीय अवस्थामा पुगेपछि ठुलो दुर्घटनाको जोखिम बढेको चौधरी बताउनुहुन्छ । सडकमा साना ठुला खाल्डाखुल्टी परेको हुँदा बस, ट्रक समेत हिँड्ने गरेकाले ठुलो दुर्घटनाको पनि जोखिम बढेको उहाँको भनाइ छ।
भजनी र घोडाघोडी दुई नगरपालिकाभित्र पर्ने यो सडकको भजनी नगरपालिका क्षेत्रमा सडकको स्तरोन्नति भईसकेको भए पनि घोडाघोडी नगरपालिकामा पर्ने सडक खण्डको स्तरोन्नति हुन सकेको छैन । घोडाघोडी नगरपालिकाले हरेक वर्ष वर्षायामा मात्र आफ्नो सिमानाभित्र ग्राभेल गर्ने गरेको छ । यो वर्ष पनि नगरपालिकाले भजनी–सुखड सडक खण्डमा ग्राभेल सुरु गर्ने बताए पनि हालसम्म भएको छैन।
नगरपालिकाले आफ्नो सीमाभित्र पर्ने १२ किलोमिटर सडक खण्डमा ग्राभेल गर्न गोले कन्स्ट्रक्सन प्रालि, हेटौडालाई रु पाँच लाखमा ठेक्का दिएको जनाएको छ । त्यति रकमले ग्राभेल गर्न अपुग भएको खण्डमा थप रु पाँच लाख फेरी थप्ने निमित्त कार्यकारी अधिकृत खगेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । नगरपालिकासँग उक्त सडक कालोपत्रेका लागी बजेट नहुँदा केन्द्र सरकार तथा प्रदेश सरकारलाई आग्रह गर्दै आएको छ।
-प्रकाश मिश्र, रासस