काठमाडौं । रवि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा गर्नुभएको छ ।
आज जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रक्रिया पूरा गरेर नयाँ नागरिकता लिनुभएको उहाँको सचिवालयले जनाएको छ । उहाँले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि कानुनी प्रक्रिया पूरा नगरेको ठहर गर्दै शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले सांसद पद खारेज गरेको थियो ।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले उनले २०५० साल फागुनमा काठमाडौँ जिल्ला प्रशासनबाट लिएको नागरिकता अवैध रहेको फैसला सुनाएको थियो ।
लामिछानेले अमेरिका प्रवेश गरेपछि २०७० साल फागुन ९ गते त्यहाँको नागरिकता पाउनुभएको थियो । नागरिकता ऐन २०६३ को दफा १० (१) मा विदेशी नागरिकता पाएपछि नेपाली नागरिकता त्यागेको मानिने व्यवस्था छ । नेपाल फर्किएपछि २०७५ सालमा अमेरिकी नागरिकता त्यागे पनि नागरिकता ऐनको दफा ११ अनुसार पुनः प्राप्तिका लागि पूरा गर्नुभएको थिएन ।
नागरिकता पुनः प्राप्त गरेसँगै उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीले फेरि पार्टी सभापति बनाएको छ । आजै बसेको केन्द्रीय समिति बैठकले उहाँलाई सभापतिको जिम्मेवारी दिएको हो ।