• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

राउटेमा कोरोना पुष्टि भएन

  • OVN
  • June 04, 2021
राउटेमा कोरोना पुष्टि भएन

दैलेख,  जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायमा कोभिड–१९ सङ्क्रमण भेटिएन ।  सुर्खेतको गुर्भाकोट नगरपालिका–११आपसोती जनैघाट जङगलको भेरी नदी किनारमा बसोबास गर्दै आएका ती समुदायको एन्टिजेनबाट स्वाव सङ्कलन गरिएको थियो। सङ्कलित स्वावको  रिपोर्ट नेगेटिभ आएसँगै सो समुदायमा कोरोना पुष्टि नभएको हो।   

परीक्षण गराएका सबैको रिपोर्ट नेगेटिभ आएको गुराँस गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक निराजन विष्टले जानकारी दिनुभयो। उहाँले भन्नुभयो,“गाउँपालिकाबाट स्वास्थ्यकर्मीको टोली राउटेका बस्तिमै पुगेर  स्वाव सङ्कलन गरिएको थियो। परीक्षण गराएकामा कसैको पनि  कोरोना पुष्टि भएन।”

उहाँले कति जनाको स्वाव सङ्कलन गरिएको थियो भन्ने जानकारी दिनुभएन। राउटे महिलाले करोना परीक्षण ‘आफ्नो  धर्म विरुद्ध हुने ’जनाउँदै स्वाव सङ्कलन गर्न अस्वीकार गरेका बताइएको छ। स्वाव सङ्कलन  गर्नु अगाडि राउटेका मुखिया सूर्यनारायण शाहीले आफ्नो जनतामा कोरोना नलागेको जनाउँदै परीक्षण नगर्न आग्रह गर्दै आउनु भएको थियो। “मेरो जनतासँग कोरोना छैन। सरसफाइ गरेकै छौं। किन स्वाव लिनु प¥यो ? जनता डराउँछ। कहिल्यै पनि तपार्इँको जस्तो उपचार गरेको छैन। बरु हाम्रो समुदायमा गैर राउटेलाई आउन नदिन प्रहरी पठाइ दिनुहोला। ”उहाँले भन्नुभयो।

केहीदिन अगाडि राउटे  युवक शिवराज शाहीको मृत्यु भएको थियो। आफ्नो समुदायमा सक्रिय शाहीको मृत्युपछि कोरोना  आशंकामा स्वाव सङ्कलन  गरिएको सहयोगी संस्था सोसेकले जनाएको छ। अहिले पनि ती समुदायलाई खाद्यान्नको जोहो गर्न  विभिन्न  गाउँ  बजार डुलिरहनु पर्ने बाध्यता छ। कोरोनाको आशंकामा राउटे समुदायको परीक्षण गरिएको  सोसेकका संस्थापक अध्यक्ष हिरासिंह थापाले जानकारी दिनुभयो। गुराँस गाउँपालिकाले राउटे नागरिकलाई स्थायी बासिन्दाको प्रमाणपत्र दिइसकेको। प्रदेश सामाजिक विकास मन्त्रालय, गुर्भाकोट नगरपालिका, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल  र गुराँस गाउँपालिकाको संयुक्त प्रयासमा कर्णाली प्रदेशको गहना भनेर चिनिने राउटे समुदायमा कोरोना  परीक्षण गराएको थियो । 
– नवीन रिजाल, रासस

Comments