• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

राउटे युवतीमाथि दुव्र्यवहारको आरोपमा तीन पक्राउ

  • OVN
  • June 06, 2021
राउटे युवतीमाथि दुव्र्यवहारको आरोपमा तीन पक्राउ

वीरेन्द्रनगर,  राउटे समुदायका युवतीलाई दुव्र्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। गुर्भाकोट नगरपालिका मेहलकुनाबाट होटेल सञ्चालकसहित तीन जना पक्राउ परेका छन्। राउटे युवतीलाई स्थानीय युवाले मादक पदार्थ सेवन गराई होटेलमा लिएर दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गुर्भाकोटका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय होटेल सञ्चालक विनोद पुन रहेको प्रहरीले जनाएको छ। पछिल्लो समय राउटे समुदायमा जाने टिकटकमा भिडियो खिच्न थालेपछि राउटे युवती असुरक्षित भएका छन्। सामाजिक सञ्जाल युट्युब, टिकटक र फेसबुकमा भाइरल भएका राउटे समुदायका युवतीमाथि दुव्र्यवहार हुन थालेको छ। भिडियो, फोटो खिच्न भन्दै राउटे समुदायमा पुग्ने स्थानीय युवाबाट राउटे युवती दुव्र्यवहारको सिकार भएका हुन्। 

राउटे युवतीहरुमाथि भएको दुव्र्यवहारको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि स्थानीयवासीले तत्काल अनुसन्धान गरी कारबाहीको माग गरेका छन्। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसअघि लेकबेँसी नगरपालिकाको कल्याणमा बस्दै आएका राउटे समुदायका व्यक्ति  केही दिनअघि मात्रै गुर्भाकोट–११ आँपसोतीको भेरी नदी किनारमा बसाइँ सरेका छन्।
-रासस

Comments