काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएपछि उर्मिला अर्यालले माओवादी पार्टीको पद तथा जिम्मेवारीबाट राजीनामा दिनुभएको छ ।
राष्ट्रिय सभाको उपाध्यक्ष पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन भन्दै नेता अर्यालले माओवादीको सम्पूर्ण जिम्मेवारी त्याग्नुभएको हो ।
अर्यालले आज जारी गरेको विज्ञप्तिमा, राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएकोले यस पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन आफु आबद्ध रहेको दल नेकपा माओवादी केन्द्रको पार्टी सदस्यता र सम्पूर्ण राजनीतिक सांगठनिक जिम्मेवजारीबाट अलग रहेको घोषणा गरिएको छ ।
अर्याल यसअघि नेकपा माओवादी केन्द्रको स्थायी कमिटी सदस्य हुनुहुन्थ्यो । उहाँ गत सोमबार सत्ता गठबन्धन दलहरूको तर्फबाट राष्ट्रिय सभाको उपाध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको थियो ।