काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ ।
राष्ट्रिय सभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार बिहान ११ बजेर ५९ मिनेटमा गर्ने गरी तोक्नुभएको हो । राष्ट्रिय सभा उपाध्यक्ष पद १ वर्षदेखि रिक्त छ ।
निर्वाचन सम्बन्धी कार्यक्रम सार्वजनिक गर्नका लागि सङ्घीय संसद्का महासचिव भरतराज गौतमलाई निर्देशन पनि सभाले दिएको छ । राष्ट्रिय सभाको आजकोे बैठक ४ मिनेट मात्रै बसेको थियो ।
बैठकले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा पठाएको छ । शिक्षामन्त्री शिशिर खनालले राखेको प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको थियो ।
राष्ट्रिय सभाको अध्यक्षले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ८ बमोजिम राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनको मिति र समय तोक्नुपर्ने व्यवस्था छ । राष्ट्रिय सभाका तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो ।