• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

राष्ट्रपतिद्वारा संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त

  • OVN
  • June 24, 2021
राष्ट्रपतिद्वारा संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त

काठमाडौँ-  राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक आयोगमा २० पदाधिकारी नियुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार लोकसेवा आयोगका अध्यक्षमा माधवप्रसाद रेग्मी तथा सदस्यमा माधव बेल्बासे, वीरबहादुर राई, दिनेश सिलवाल र मञ्जु कुमारी नियुक्त हुनुभएको छ।

त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तमा डा हरि पौडेल र सुमित्रा श्रेष्ठ तथा निर्वाचन आयोगका आयुक्तमा सगुनशम्शेर जबरा नियुक्त हुनुभएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्यमा विपीनराज निरौला, महिला आयोगका सदस्यमा जया घिमिरे र सावित्राकुमारी शर्मा तथा राष्ट्रिय दलित आयोगका सदस्यमा सुन्दर पुर्कुटी नियुक्त हुनुभएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यस्तै राष्ट्रिय समावेशी आयोगका अध्यक्षमा डा रामकृष्ण तिमल्सेना नियुक्त हुनुभएको छ । सोही आयोगका सदस्यमा पुष्पराज तिमिल्सिना र मानप्रसाद खत्री नियुक्त हुनुभएको छ । आदिवासी जनजाति आयोगका सदस्यमा सूर्यबहादुर गुरुङ, मधेशी आयोगका सदस्यमा आभा कुमारी, थारु आयोगका सदस्यमा शान्ति मोदी र उमाशंकरप्रसाद चौधरी र  मुस्लिम आयोगका सदस्यमा मोहम्मदसमशुक हक नियुक्त हुनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

संवैधानिक परिषद्का सिफारिशका आधारमा राष्ट्रपति भण्डारीले विभिन्न संवैधानिक आयोगका अध्यक्ष एवम् पदाधिकारी नियुक्त गर्नुभएको हो।
-रासस

Comments