• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएपछि अरनिको राजमार्ग र वरिपरिको सडक सरसफाइ

  • OVN
  • October 19, 2021
राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएपछि अरनिको राजमार्ग र वरिपरिको सडक सरसफाइ

भक्तपुर- कोजाग्रत पूर्णिमाको दिनमा भक्तपुरस्थित नवदर्गा मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएपछि आज सडक सरसफाइ गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय भक्तपुरको निर्देशनमा आज अरनिको राजमार्ग सडकखण्डअन्तर्गत तीनकुने सल्लाघारीदेखि सूर्यविनायक हुदैँ जगातीसम्मको सडक सरसफाइ गरिएको हो । 

नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी, नेपाल रेडक्रस सोसाइटी, भक्तपुर नगरपालिका र नेप्से म्याकको सहभागितामा सडक सरसफाइ गरिएको बताइएको छ । सरसफाइमा सङ्कलन गरिएका फोहर भक्तपुर नगरपालिका र नेप्से म्याकको गाडीमा राखेर लगिएको थियो । सफाइ गर्ने क्रममा सल्लाघारीको सूर्य कोल्ड स्टोरले पसल अगाडि सडकमा फालेको फोहर नेपाल रेडक्रस सोसाइटी भक्तपुरको टोलीले उठायो । रेडक्रस सोसाइटी भक्तपुरका संयोजक कृष्णगोपाल लागेजूले फोहर उठाउँदै सडकमा फोहर नफाल्न आग्रह गर्नुभयो ।

रेडक्रस जिल्ला सदस्य रामेश्वर थापाले व्यवसाय गर्ने, अनि फोहर सडकमा फाल्ने र सफाइ गर्न आउने अभियन्तालाई सहयोग नगरी उल्टै टुलुटुलु हेर्ने प्रवृत्ति नै खराब रहेको बताउनुभयो । विभिन्न व्यवसाय गर्ने व्यसवायीले नै सडकमा अधिकांश फोहर फाल्ने गरेको स्थानीयवासी बताउँछन् । सडकमा फोहर फाल्नु हुन्न भन्ने जानकारी हुँदाहुँदै पनि फाल्नेलाई कारबाही गर्ने नीति स्थानीय प्रशासन र सरकारले लिनुपर्ने सफाइ अभियन्ता बताउँछन् ।
-रासस

Comments