• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

राष्ट्रपति निर्वाचनबारे सांसदलाई एमालेको अभिमुखीकरण

  • OVN
  • March 06, 2023
राष्ट्रपति निर्वाचनबारे सांसदलाई एमालेको अभिमुखीकरण

काठमाडौं । नेकपा (एमाले) ले राष्ट्रपति निर्वाचनबारे आफ्ना सांसदलाई अभिमुखीकरण गराएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा एमालेले प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदलाई अभिमुखीकरण गराएको हो । 

अभिमुखीकरण कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बन्नुभएका सुवासचन्द्र नेम्वाङलाई जिताउन पार्टीले लिएको रणनीति, विपक्षी पार्टीका मतदाता तान्ने रणनीति र वर्तमान राजनीतिक अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । 

उहाँले राष्ट्रपतिको निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका सुवासचन्द्र नेम्वाङको जित सुनिश्चित भएको बताउनुभयो । उहाँले लोकतन्त्रको रक्षा गर्नका लागि सबै राजनीतिक दलसँग एमालेले सहकार्य गर्ने बताउनुभयो ।

राष्ट्रपतिका उम्मेदवार नेम्वाङले आफूलाई राष्ट्रपतिमा निर्वाचित भए पनि पहिलो दायित्व संविधानको रक्षा गर्ने बताउनुभयो । 

अभिमुखीकरण कार्यक्रममा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिवद्वय गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी लगायतको नेताहरूको सहभागी थियो । 

एमालेले राष्ट्रपतिमा नेम्वाङलाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसले  वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । रासस

Comments