• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

रास्वपा तत्काल सरकारमा नजाने, १६ जना केन्द्रीय सदस्य थपिए

  • OVN
  • February 13, 2023
रास्वपा तत्काल सरकारमा नजाने, १६ जना केन्द्रीय सदस्य थपिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तत्काल सरकारमा सहभागी नहुने भएको छ ।

बसुन्धरास्थित पार्टी कार्यालयमा आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले तत्कालका लागि सरकारमा सहभागी नहुने निर्णय गरेको हो । पूर्वसहमतिअनुसार गृह मन्त्रालय पाएमा मात्र सरकारमा जाने निर्णय भएको पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो ।

त्यसैगरी सो पार्टीले केन्द्रीय समिति विस्तार गरी ४० सदस्यीय बनाएको छ । २४ सदस्यबाट १६ जना थप गर्दै ४० सदस्यीय बनाएको हो । बैठकले निशा मेहता, विन्दवासिनी कंसाकार, रूपा शङ्कर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, टीका सङ्ग्रौला ज्वाला, हरि भट्ट, ध्रुव गिरी, लीमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, क्रान्तिशिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्रीलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको सहमहामन्त्री बुर्लाकोटीले जानकारी दिनुभयो । बैठकले आगामी वैशाख १० गते हुने चितवन–२ को उपनिर्वाचनमा जान तयार रहने निर्णय पनि गरेको छ ।

सर्वोच्च अदालतले माघ १३ गते पार्टी सभापति लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा दोषी ठहर गरेपछि रास्वपाका सभापति रवि छामिछानेले राजीनामा दिनुभएको हो । गृह मन्त्रालय नपाएपछि रास्वपाले सरकारलाई दिएको समर्थन यथावत् राख्दै २२ माघमा सरकारबाट बाहिरिएको थियो ।

Comments