• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

राप्ती नदीमा पानीको सतह बढ्दा दर्जनौँ गाउँ जोखिममा

  • OVN
  • June 16, 2021
राप्ती नदीमा पानीको सतह बढ्दा दर्जनौँ गाउँ जोखिममा

रुपन्देही-  तीन दिनदेखिको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतह बढ्दै गएपछि बाँकेका दर्जनौँ गाउँ डुबानको उच्च जोखिममा परेका छन् । कुसुम क्षेत्रमा राप्ती नदीको बाढी मापन केन्द्रमा जलसतह सतर्कताको विन्दु पाँच मिटर पार गरिसकेको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो। 

उहाँका अनुसार वर्षा नरोकिएकाले राप्ती नदीमा जलसतह बढ्दै जाँदा बाढी गाउँ पस्न सक्ने जोखिम बढेको छ । “वर्षा भइरहेको हुँदा राप्ती नदीमा पानीको सतह बढिरहेको छ”, उहाँले भन्नुभयो, “बाढी प्रभावित क्षेत्रमा सतर्कता अपनाउन र खटिनका लागि तयारी अवस्थामा रहन खबर गरिसकेका छौँ।”

दाङ, रोल्पा, प्यूठानमा लगातार पानी परेकाले नदीको सतह बढेको हो । राप्तीमा पानीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुगेपछि डुबानको खतरा मानिन्छ । बिहानबाट नदी क्रमिक रुपले बढ्दै गएको छ । नदीमा पानीको सतह खतराको तहमा पुग्न थालेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको सूचना अधिकृत ज्ञवालीले बताउनुभयो। 

राप्ती नदीको बाढी तल्लो तटीय क्षेत्रमा आइपुग्न करीब चारदेखि पाँच घण्टा समय लाग्ने अनुमान गरिन्छ । कुसुममा पानीको सतह पाँच मिटर पुग्ने बित्तिकै खतरास्वरुप नदी छेउछाउमा साइरन बजाइन्छ । नदीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुग्ने बित्तिकै राप्ती नदी आसपासका दर्जनौँ गाउँ डुब्ने गर्छन् । भारतले अन्तर्राष्ट्रिय नियम विपरीत लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध बनाएका कारण नदी प्राकृतिक रुपले बग्न नपाउँदा नेपाली भूभाग राप्ती नदीमा पानीको सतह बढ्दा राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका बासिन्दा डुबानमा पर्दै आएका छन्।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नदीमा पानीको सतह बढिरहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गर्नुभयो । जिल्ला विपद् व्यवस्थापन समितिले बाढीजन्य प्रकोपको पूर्वतयारीका लागि राप्ती नदी, मान खोला, किरण नाला, डुडुवा नालालगायतका जोखिमयुक्त क्षेत्रमा हुन सक्ने कटान तथा बाढीका कारण हुने क्षति न्यूनीकरणका लागि समयमै रोकथाम तथा आपत्कालीन तटबन्धका लागि कार्य गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने गरेको उहाँको भनाइ छ। 

बाँकेमा यस वर्षको विपद्बाट २५ हजार घरपरिवारका डेढ लाख सर्वसाधारण प्रभावित हुने पूर्वानुमान गरिएको छ । त्यसैगरी मनसुनबाट करीब १० हजार घरपरिवारका ५० हजार मानिस प्रभावित हुने अनुमान छ।

जिल्ला विपद् व्यवस्थापन समितिले बाढीजन्य विपद्बाट उच्च जोखिमयुक्त क्षेत्र, परिवार सङ्ख्या र सुरक्षित स्थानको पहिचान अविलम्ब गर्ने, पालिकाभित्र भएको विपद्मा प्रयोग हुने स्रोत साधन, जनशक्तिको अद्यावधिक गरी तयारी अवस्थामा राख्ने, विपद् सर्वेक्षणका लागि आवश्यक पर्ने जनशक्तिको पहिचान, प्रारम्भिक द्रुत लेखाजोखा र घरधुरी सर्वेक्षण फारम तयारी अवस्थामा राख्ने, नदी तथा खोलामा पानीको सतह बढेको अवस्थामा माछा मार्न, दाउरा छोप्न जाने, पौडी खेल्नेजस्ता कार्य रोक्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गेलालले बताउनुभयो।   

राप्ती नदीको बाढीमा फसेका चारको उद्धार 

अविरल वर्षातका कारण दाङको राप्ती नदीमा पानीको बहाव बढेपछि नदीको बीचैमा भैँसी चराउन गएका चार फसेकाको उद्धार गरिएको छ । लमही नगरपालिका–७ हस्नापुर र राजपुर गाउँपालिकाको बेला घाटको टापुमा राजपुर गाउँपालिकाका तीन र लमही नगरपालिकाका एकजना फसेका थिए।

लमही–७ का ४८ वर्षीय मनराम चौधरी, राजपुर–२ का ४५ वर्षीय सावित्रा यादव, सोही ठाउँका २६ वर्षीय राधे यादव र राजपुर–३ का २६ वर्षीय गणेश यादव नदीको टापुमा भैँसी चराउँदै गरेको अवस्थामा नदीमा पानीको बहाव बढेपछि नदीको बीचैमा फसेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ। 

मङ्गलबार बेलुका टापुमा फसेको जानकारी भए पनि  लगातारको वर्षाका कारण उनीहरुको उद्धारमा कठिनाइ भएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख विश्वप्रकाश अर्यालले बताउनुभयो । उद्धारका लागि २५ सशस्त्र प्रहरी खटिएको उहाँले जानकारी दिनुभयो।

-रासस

Comments