• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

रोकिएन साना भूकम्प जाने क्रम

  • OVN
  • June 07, 2021
रोकिएन साना भूकम्प जाने क्रम

काठमाडौँ- लमजुङको भुलभुले केन्द्रविन्दु भएर गएको भूकम्पपछि नेपालमा साना भूकम्प जाने क्रम जारी रहेको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार यही जेठ ५ गते बिहान भुलभुले केन्द्रविन्दु भएर गएको ५.८ रेक्टरस्केलको भूकम्पपछि नेपालमा साना भूकम्प जाने क्रम जारी रहेको छ । 

केन्द्रका भूकम्पविद् भरत कोइरालाले लमजुङको भुलभुले केन्द्रविन्दु भएर गएको भूकम्पपछि नेपालमा चार रेक्टर स्केलभन्दा ठूलो पाँच पटक भूकम्प गएको बताउनुभयो। “नेपाल भूकम्पीय दृष्टिकोणले जोखिम क्षेत्र रहेकाले नेपालमा जुनसुकै समयमा पनि भूकम्प जान सक्छ”, कोइरालाले भन्नुभयो। भुलभुले केन्द्रविन्दु भएर गएको भूकम्पमा छ जना घाइते हुनाका साथै २०० भन्दा धेरै घरमा क्षति पुगेको थियो। 

विसं २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प गएपछि उक्त भूकम्पलाई सम्झाउने गरी जेठ ५ गते भूलभूले केन्द्रविन्दु भएर भूकम्प गएको थियो। भुलभुलेको भूकम्प गोरखा भूकम्पको पराकम्प हो वा नयाँ भूकम्प हो भन्ने बारेमा अनुसन्धान भइरहेको सो केन्द्रले जनाएको छ। गोरखा भूकम्पपछि नेपालमा चार रेक्टरस्केलभन्दा ठूला ५५८ भूकम्प गइसकेको भूकम्पविद् कोइरालाले बताउनुभयो। 
-रासस

Comments