काठमाडौं । चालु आर्थिक वर्षको साढे पाँच महिनामा राजश्व सङ्कलन लक्षभन्दा २५ प्रतिशत कम भएको छ ।
आन्तरिक राजश्व विभागका अनुसार गएको साउन यताका साढे ५ महिनामा ३ खर्ब ५० अर्ब रूपैयाँ राजस्व सङ्कलन भएको हो । यो गत वर्षको यही अवधिको तुलनामा २१ प्रतिशत कम हो ।
गत आर्थिक वर्षका सुरुका साढे ५ महिनामा लक्षको ३७ प्रतिशत अर्थात् ४ खर्ब ४२ अर्ब रुपैयाँ राजश्व सङ्कलन भएको थियो । यो वर्ष हरेक महिना राजस्व सङ्कलन घट्दै गएको देखिएको छ । गत वर्षको तुलनामा साउन महिनामा १२ प्रतिशतले राजस्व सङ्कलनमा कमी आएको थियो भने भदौमा १४, असोजमा १८, कात्तिकमा १९ र मङ्सिरमा २० प्रतिशतले कमि आएको छ ।
साढे पाँच महिनाको अवधिमा सरकारको लक्ष्यको तुलनामा करिब २ खर्ब रुपैयाँले राजस्व सङ्कलनमा कमी आएको विभागका सूचना अधिकारी राजु प्रसाद प्याकुरेलले बताउनुभयो ।
वरिष्ठ अर्थविद् डा. चन्द्रमणि अधिकारीले यसरी राजस्व सङ्कलनमा कमि आउनुले देशको अर्थतन्त्रलाई नराम्रो असर पर्ने बताउनुभयो । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भने राजश्व सङ्कलन बढाउने कार्ययोजना तयार गरी काम गर्न निर्देशन दिनुभएको छ ।
राजस्व सङ्कलनको वर्तमान अवस्थाका बारेमा राजस्व विभाग र भन्सार विभाग अन्तर्गत कार्यालयका प्रमुखहरूसँग छलफल गर्दै राजश्वको लक्ष्य र सङ्कलनको अन्तर ठूलो रहेकाले लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न सोही बमोजिमको कार्ययोजना तयार गरी कार्य सम्पादन गर्न निर्देशन दिनुभयो ।