काठमाडौं । बैदेशकि रोजगार बोर्डले बैदेशिक रोगारीमा जाँदा अनिवार्य सिप सिकेर जान आग्रह गरेको छ ।
सिप नसिकी विदेश जाँदा जोखिम बढ्ने र सेवा–सुविधा कम हुने भएकाले बोर्डले यस्तो आग्रह गरेको हो । हातमा सिप भए सजिले काम पाइने र पारिश्रमिक पनि धेरै हुने बोर्डका निर्देशक दीपक ढकालले बताउनुभयो ।
अहिले रोजगारीका लागि दैनिक झण्डै २ हजार जना नेपाली विदेश जाने गरेका छन् । त्यसमध्ये सात सय भन्दा बढी कामदार अदक्ष छन् । वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रुपमा अभिमुखीकरण तालिम लिनुपर्ने सरकारी नियम भइपनि रोजगारीमा जानेहरू त्यसै जाने र दुःख पाउने प्रबृती देखिएको छ ।
बैदेशिक रोजगार बोर्डले सिटीईभीटी अन्तर्गत देशभरका ६ सयभन्दा बढी तालिम दिने संस्थासँगको सहकार्यमा १७ विधामा निःशुल्क तालिम प्रदान गरिरहेको निर्देशक ढकालले बताउनुभयो ।
त्यससँगै इभेन्ट परियोजना, एसटिपी, घरेलु तथा साना उद्योग कार्यालयलगायतले पनि सिपमुलक तालिम उपलब्ध गराउँदै आएका छन् । बोर्डले एक महिनासम्म दिने तालिमपछि सिप परिक्षा पास गरे तालिमका लागि बोर्डमा बुझाएको रकम फिर्ता पाउने छन् ।
यस्तै, सुरक्षित आप्रवासन परियोजना सामीअन्तरगत समेत निशुल्क तालिम उपलब्ध गराइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताउनुभयो ।
कतिपय सिपमुलक तालिम स्थानीय सरकारले समेत उपलब्ध गराउने गरेका छन् । वैदेशिक रोजगारीमा, सिप सिकेकाहरुको आम्दानी धेरै र जोखिम कम हुने भएकाले पनि आफुलाई मनपर्ने विषयको तालिम लिनु श्रमिकको हितमा रहेको उहाँले बताउनुभयो ।