• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

पाठ्यपुस्तक समयमै पु-याउन सरकारको तत्कालीन र दीर्घकालीन योजना 

  • OVN
  • January 24, 2023
पाठ्यपुस्तक समयमै पु-याउन सरकारको तत्कालीन र दीर्घकालीन योजना 

काठमाडौं । विद्यार्थीले समयमै पाठ्यपुस्तक नपाउने वर्षौँदेखिको समस्या समाधानका लागि सरकारले तत्कालीन र दीर्घकालीन योजना कार्यान्वयन गर्ने भएको छ । 

आगामी तीन महिना भित्रमा नयाँ शैक्षिक सत्रका लागि तत्काल पाठ्यपुस्तक पु-याउने काम भइरहेको र अर्को वर्षदेखि समयमै पुग्ने गरी नीति, निर्देशिका अनि कार्यविधि बनाउने तयारी भइरहेको शिक्षा मन्त्रालयले जनाएको छ । समयमा कागज नपाउनु, छपाइका लागि पर्याप्त बजेट नहुनु अनि सार्वजनिक खरिद ऐन् अनुसार अघि बढ्नु परेका कारण पाठ्यपुस्तक छाप्न ढिलो भएको भन्ने जानकारीका आधारमा रणनीतिक योजना बनाएर अघि बढ्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले बताउनुभयो । 

‘पाठ्यपुस्तक छाप्ने र ढुवानीको कामलाई व्यवस्थित बनाउन मैले गरेको कम त देखिन समय लाग्न सक्छ । तर तीन महिनाभित्रमा पाठ्यपुस्तक छाप्ने र पु-याउनका लागि यसअघि बनाइएकै योजना अनुसार काम गर्दैछु ।’ मन्त्री खनालले भन्नुभयो । 
चुनावका लागि तयार पारिएको मतपत्र समयमै पु¥याउन सक्ने सरकारले पाठ्यपुस्तक छाप्न ढिलो गरेको  भन्दै सरोकारवाला निकायबाट आलोचना पनि हुने गरेको   छ । तर शिक्षा सचिव रामकृष्ण सुवेदीले मतपत्रका लागि आवश्यक पर्ने कागज छोटो प्रक्रिया र पाठ्यपुस्तकका लागि चाहिने कागज लामो प्रक्रियाबाट खरिद हुने गरेको बताउनुभयो ।

उहाँका अनुसार १ देखि ५ कक्षासम्मको पाठ्यपुस्तक छपाइको जिम्मा निजी मुद्रण संस्थालाई दिने र १ देखि १२ को पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रलाई छाप्न दिने केही दिनअघि मात्र सरकारले निर्णय गरेको छ । 

जनक शिक्षा सामग्री केन्द्रका अनुसार हालसम्म ५० लाख पाठ्यपुस्तक छपाइको काम सकिएको छ भने आगामी चैतभित्रमा १ करोड ६७ लाख थान पाठ्यपुस्तक छाप्न दैनिक २० घण्टा मेशिन चलाइएको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिनुभयो । अभिभावक सङ्घका अध्यक्ष सुप्रभात भण्डारीले निजी क्षेत्रलाई पुस्तक छपाइको जिम्मा दिने बारेमा हरेक वर्ष निर्णय गर्नुपर्ने अभ्यास गलत हिजो दिगो विकास तथा सुशासन समितिको बैठकमा बताउनुभयो । 

समयमै पाठ्यपुस्तक छपाइको काम सक्न र विद्यार्थीमाझ पु-याउनका लागि राष्ट्रिय सभा मातहतको दिगो विकास तथा सुशासन समितिले निरन्तर छलफल गर्दै आएको छ । करिब एक महिनाअघि सरोकारवाला निकायसँग छलफल गरेको समितिले हिजो शिक्षामन्त्रीलगायतका सरोकारवाला निकायसँग छलफल गर्दै तोकिएको समयावधि अर्था नयाँ शैक्षिकसत्र सुरु हुनुअघि नै पाठ्यपुस्तक पु-याउन सरकारलाई निर्देशन दिएको सभापति प्रकाश पन्थले बताउनुभयो । 

कक्षा ११ र १२ को २४ लाख पुस्तक २०८० वैशाख र जेठसम्ममा तयार गर्ने योजना जनक शिक्षा सामग्री केन्द्रको छ । कक्षा १ देखि १० सम्मका पुस्तक आगामी चैत १५ गतेदेखि र असार १ गतेदेखि ११ र १२ का पाठ्यपुस्तक विक्री सुरु गरिने जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । 
 

Comments