कञ्चनपुर- बेलौरी नगरपालिकाको पर्यटकीय क्षेत्र शोभातालमा थारु घरवास पर्यटन (होमस्टे) बनाउन शुरु गरिएको छ। शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने नगरपालिकाको योजनाअनुसार थारु होमस्टेको भवन बनाउन लागिएको हो।
बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले आइतबार होमस्टको भवन निर्माणको शिलान्यास गर्नु भएको छ। होमस्टे भवन निर्माण कार्यको शिलान्यास गर्दै उहाँले आन्तरिक पर्यटन व्यवसायलाई प्रर्वद्धन गर्नका लागि कार्य अगाडि बढाइएको बताउनुभयो। “शोभातालको शोभा बढ्छ । यसबाट पर्यटन प्रवद्र्धनमा टेवा पुग्छ”, उहाँले भन्नुभयो।
थारु समुदायको संस्कृति, रहनसहन, भेषभूषा र मौलिक खाद्य परिकार संरक्षण र प्रवद्र्धनका लागि होमस्टे बनाउन लागिएको हो। शोभाताल क्षेत्रमा थारु समुदायको वसोवास छ। होमस्टेसँगै दृश्यावलोकन स्तम्भ निर्माण गर्ने नगरपालिकाको योजना रहेको छ। शोभातालको दृश्यावलोकनका लागि यस किसिमको स्तम्भले पर्यटकलाई सहज हुने अपेक्षा गरिएको छ।
होमस्टे भवन निर्माणसँगै नगरपालिकाले स्थानीय पाँच परिवारलाई होमस्टे सञ्चालनका लागि अनुदान समेत दिने भएको छ । त्यसका लागि नगरसभाबाट नीति तथा कार्यक्रम पारित गरिएको छ। बेलौरी नगरपालिका—५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय स्थल बनाउन विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) निर्माण गरिएको छ। नगरपालिकाले यसका लागि सङ्घीय सरकारबाट समेत सहयोग पाएको छ।
आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न तालका नौका बिहान गर्न मोटरबोट समेत सञ्चालन गर्ने योजना बनाइएको नगरपालिकाका प्रवक्ता विनोद नेपालीले बताउनुभयो। शोभाताल क्षेत्रलाई पर्यटकीय स्थल बनाउने योजनालाई नगरपालिकाले नगर गौरवको योजनाका रुपमा राखेको छ।
- रासस