काठमाडौं । सरकारमा रहेका राजनीतिक दलहरूबीच प्रदेश सरकारका मुख्यमन्त्री, प्रदेश सभामुख र उपसभामुखको नेतृत्वको बारेमा सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ बसेको शीर्ष नेताबीचको बैठकमा सातै प्रदेशको शक्ति बाँडफाँडका बारेमा सहमति भएको हो । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालय स्रोतका अनुसार प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा एमालेले मुख्यमन्त्री पाउने सहमति भएको छ ।
कर्णालीमा माओवादी केन्द्रले पाँचै वर्ष सरकार चलाउने सहमति भएको छ भने बागमती र सुदूरपश्चिम प्रदेशमा एमाले र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । मधेस प्रदेशमा पहिलो कार्यकालमा जनता समाजवादी पार्टीले सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।
बागमतीमा पहिलो कार्यकाल माओवादी केन्द्र र सुदूरपश्चिम प्रदेशमा पहिलो कार्यकाल एमालेले सरकारको नेतृत्व गर्ने सहमति भएको नेताहरूले बताएका छन् । एमालेको मुख्यमन्त्री भएको प्रदेशमा माओवादी केन्द्रको सभामुख र माओवादी केन्द्रको मुख्यमन्त्री भएको प्रदेशमा एमालेका तर्फबाट सभामुख हुने सहमति गरिएको छ भने बागमती प्रदेशको सभामुख पद चाहिँ राप्रपालाई दिने निर्णय भएको छ ।
प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रदेश सभा सभामुख माओवादी केन्द्रका तर्फबाट चयन हुने सहमति भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार मधेस प्रदेश र कर्णाली प्रदेशको प्रदेश सभामा सभामुखमा एमालेका तर्फबाट नियुक्त हुने सहमति भएको छ ।
प्रदेश १ र गण्डकी प्रदेशको उपसभामुख एमाले, बागमती र कर्णाली प्रदेश उपसभामुख माओवादी केन्द्र, लुम्बिनी प्रदेशमा राप्रपा र मधेशमा जनमत पार्टीका तर्फबाट उपसभामुख चयन गर्ने सहमति भएको उहाँले जानकारी दिनुभयो ।