काठमाडौं । प्रदेश १ काँग्रेस संसदीय दलको नेता छान्नका लागि आज मतदान हुँदैछ ।
बिहान ९ देखि १० बजेसम्म मतदान हुने कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ । दलको नेताका लागि प्रदेश सांसद आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, पार्टीका प्रदेश १ सभापति उद्धव थापा र केन्द्रीय सदस्य अमृत अर्यालले उम्मेदवारी दिनुभएको छ ।
कांग्रेस संसदीय दलको विधान अनुसार दलको नेता निर्वाचित हुनका लागि कूल मतदाताको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने व्यवस्था छ । ५० प्रतिशतभन्दा बढी मत कुनैपनि उम्मेदवारले प्राप्त नगरे बढी मत ल्याउने दुई जना उम्मेदवारबीच पुनः निर्वाचन भएर त्यसमा बढी मत ल्याउने दलको नेतामा निर्वाचित हुने विधानमा उल्लेख छ ।
त्यसैले पहिलो निर्वाचनबाट दलको नेता निर्वाचित हुनेले १५ जना प्रदेश सांसदको मत प्राप्त गर्नुपर्ने छ । तीनै जना उम्मेदवारमध्ये कसैले पनि १५ जनाको मत प्राप्त गर्न नसकेको अवस्थामा बढी मत प्राप्त गर्ने दुई जना उम्मेदवारबीच पुनः निर्वाचन हुनेछ ।